
काठमाडौं । कोभिड –१९ को प्रभावपछि बन्द रहेका रेष्टुरेन्ट एण्ड बारका श्रमिकहरुले न्यूनतम तलब पाउने भएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) र रेबानसँग आवद्ध मजदुर संघ/संगठनबीच न्यूनतम ४ हजार ३ सय रुपैयाँ तलव दिने सहमति हुने भएको हो ।
यसअघि होटल एशोसिएन अफ नेपाल (हान) ले आफ्ना श्रमिकहरुलाई न्यूनतम तलब दिने सहमति गरेको थियो । होटल संघले ५ स्टार होटलका मजदुरलाई १० हजार, फो स्टार होटलका मजदुरलाई ९ हजार तलब दिने सहमति गरेको थियो । होटल संघले न्यूनतम ४ हजार ३ सय रुपैयाँसम्म तलब तोकेको छ । रेबानले पनि हानकै जस्तो सहमतिलाई नजिर मानेर सबै श्रमिकहरूलाई बराबर रकम दिन लागेको हो ।
रेबानका अध्यक्ष अरनिको राजभण्डारीले हामी र मजदुरबीचको वार्ता सहमतिको नजिक पुगेको बताए । उनले भने ‘अहिलेको अवस्था भनेको सबैलाई जोगाउने हो,’ वार्ता नजिक पुगेको छ, केहि बेरमौ टुंगिने छ ।’
सामाजिक सुरक्षा करबापत १ प्रतिशत काटेको रकम पनि अहिले सरकारले नदिएको र थप राहत नदिँदा साथीहरूलाई समस्या पर्ने देखेर श्रमिकहरुको समस्यालाई मध्यनजर गरी न्यूनतम रकम दिन लागिएको उनले बताए । हानले १ स्टार र पर्यटकीय स्तरका होटलका श्रमिकहरुलाई ४ हजार ३ सय रुपैयाँ दिने सहमति गरेको थियो । सरकारले साउन १५ गतेबाट रेष्टुरेन्ट र होटलहरु सञ्चालन गर्ने निर्णय गरेको छ । योसँगै भदौ १ गतेबाट आन्तरिक एवम् बाह्य उडान पनि खुला गरेको छ ।
त्यो अवधिभर व्यवसाय टिकाउन, कर्मचारीलाई पारिश्रमिक दिन र घरभाडा तिर्न चुनौती हुने देखिएको छ । त्यसैले यो अवस्थामा सबैले केही छाड्नु पर्ने अवस्था आएको छ ।
प्रतिक्रिया दिनुहोस