
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया बृद्धाको मृत्युभएसँगै संख्या ४४ पुगेको हो ।
गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
चिकित्सकका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा थप १३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ । शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,३७४ पुगेको छ । अहिलेसम्म ४४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार कोभिड-१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १२,९४७ रोगमुक्त भएका छन् ।
अधिकांश सङ्क्रमितमा रोगको लक्षण नै नदेखिएको तर पीसीआर परीक्षणमा कोरोनाभाइरस पाइएको सरकारको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,३८३ व्यक्ति देशभरि आइसोलेशनमा छन् । केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ ।
गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ ।
मन्त्रालयले मङ्गलवार १५०, बुधवार १०० र बिहीवार १४७ जनामा सङ्क्रमण पुष्टि भएको विवरण दिएको थियो ।
केही सातादेखि भारतबाट घर फर्किने मानिसको सङ्ख्या ह्वात्तै घटेको बताइन्छ । त्यसो हुँदा क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या कम हुँदा सङ्क्रमित फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस