
एजेन्सी। बेलायती विज्ञहरूका अनुसार मोटो र बढी तौल हुने मानिसहरूलाई कोरोना भाइरसको सङ्क्रमण भयो भने गम्भीर बिरामी पर्न सक्छन्। उनीहरूको मृत्युको सम्भावना पनि बढी हुन्छ।
बेलायती स्वास्थ्य विभागको कार्यकारी एजेन्सी पब्लिक हेल्थ इङ्गल्याण्डले प्रमाणको आधारमा यस्तो निचोडमा पुगिएको बताएको छ। सो संस्थाका अनुसार यो पत्ता लागेको छ कि मोटो र बढी वजन भएका व्यक्तिहरूलाई कोरोना लागेमा अस्पताल भर्ना गर्नै पर्ने हुन्छ।
विज्ञहरूका अनुसार यो जोखिम तौल बढ्दै जाँदा अझ बढ्छ। बेलायती स्वास्थ्य विभागका मुख्य पोषण विशेषज्ञ डा. एलिसन टेडस्टोनका अनुसार कोभिड १९ सङ्क्रमण भएमा बढी वजन भएकाहरू धेरै गम्भीर बिरामी हुने र त्यसैको कारण मृत्यु हुने खतरामा हुन्छन्।
ब्रिटिस सरकारले मोटोपन घटाउने प्रयासहरूको घोषणा गर्नु ठिक अघि यो जानकारी सार्वजनिक गरिएको हो। युरोपियन देशहरू बिच बेलायत सबैभन्दा बढी मोटोपना भएका मानिसहरू रहेका छन् । बेलायतमा करिब दुई तिहाइ वयस्कहरू मोटो वा बढी वजन भएका छन्।
मोटोपना पत्ता लगाउने सामान्य तरिका कम्मरको आकार हो। पुरुषहरूको कम्मरमा ९४ सेमी भन्दा बढी र महिलाको कम्मर ८० सेमी भन्दा बढी भए मोटोपनाको समस्या भएको मानिन्छ।
प्रतिक्रिया दिनुहोस