
काठमाडौं । दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीहरूको नियमित रुपमा अनिवार्य सुरक्षा अडिट गराउन निर्देशन दिएको छ । प्राधिकरणले अडिटको प्रतिवेदन नियामक निकायमा बुझाउन समेत भनेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
पछिल्लो समय इन्टरनेट सेवा प्रदायकको सिस्टममा रहेको कमजोरीका कारण ह्याकिङका घटनाहरु बढ्दै गएका छन् । यस्तो अवस्थाको सुधार गर्न तथा त्यस किसिमका घटना दोहोरिन नदिन यस्तो निर्देशन दिएको हो ।
सेवा प्रदायकले नियामकको निर्देशन पालना नगरेमा दूरसञ्चार ऐन २०५३ आकर्षित हुने र सेवा प्रदायकलाई पचास हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने अर्यालले बताए । साथै निर्देशन पालना नगर्दा भएको हानी नोक्सानीको बिगो तथा क्षतिपूर्ति पनि सेवा प्रदायकले नै भर्पाई गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस