
काठमाडौं ।अन्तर्राष्ट्रिय उडानहरू सुचारु भएका छैनन्, आन्तरिक पर्यटक खासै ठूला होटलमा बस्दैनन् मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले भने । ‘अहिले होटल खोलेर केही अर्थ छैन, ‘खोलेरमात्र के गर्ने ?’ अन्तर्राष्ट्रिय उडान नखुलेसम्म पर्यटक आउन सक्ने सम्भावना देखिदैन, तर हामी तयारी अवस्थामा छौ,’ उनले भने ‘देशभित्रका पर्यटक तारे होटलमा बस्न कै लागि काठमाडौं आउनु हुँदैन, काठमाडौं बाहिरका मानिसकहरूको यहाँ बस्नका लागि कुनै न कुनै माध्यम हुन्छ । र काठमाडौंको मान्छे घुम्न पोखरा, लुक्ला, रारा, सौराह, जोमसोम गएपनि काठमाडौंको तारे होटलमा बस्दैन । पर्यटक आउने अवस्था सिर्जना नभएसम्म होटल खोलेर केही अर्थ नभएको अग्रवालले बताए ।
होटल खोल्न त व्यापार चाहियो, सरकारले खोल भनेको छ, नाइनास्ती गर्न मिलेन, होटल संघ नेपाल (हान) का प्रथम उपाध्याक्ष विनायक शाहले भने । ‘होटल खोल्दा खर्च हुन्छ, खर्च वहन गर्ने क्षमता हामीसँग छैन, पार्सल रुपमा होटल खोल्न लागिएको छ,’ उनले अगाडी भने ‘काठमाडौं मै संक्रमण बढ्दो क्रममा रहेकोले सुरक्षा अपनाएर होटलका केही सेवाहरू खुला गर्छौ ।’
होटल खोल्दा पनि चुनौती छ नखोल्दा पनि चुनौती छ । हामीले बहुत अप्ठ्यारो परिस्थितिमा सरकारले निर्देशन बमोजिम होटल खोल्न लगेका छौ । सरकारले अतिप्रभावित क्षेत्र होटललाई दिने भने कोष अहिलेसम्म परिचालन हुन सकेको छैन। खर्च बढाएर व्यवसायी टिक्न नसक्ने भएकोले कसैले केही कसैले रेष्टुराँमात्रै भएपनि सञ्चालन गर्न लागिएको हो ।
अहिलेको यो जटिल अवस्थालाई मध्येनजर गरेर पहिलो चरणमा होटल खोल्ने अभ्यास आजबाट शुरु गर्न लागिएको शाहले बताए ।
होटल व्यवसायी स्वयम्ले खर्च धान्न सक्ने अवस्था भएमा ठूला होटल पनि खुल्ने तर, अहिलेको अवस्थामा भने साना र मझौला होटल बढी खुल्ने उनले आर्थिकन्युजलाई जानकारी दिए ।
पाहुना पनि अहिले तत्कालै नआउने र मजदूरलाई पनि काममा बोलाउन नसक्ने अवस्थाका कारण ठूला होटल तत्कालै खुला नहुने उनले बताए । पर्यटक आउने थालेपछि ठूला होटल आफैं खुल्दै जाने छ,’ उनले भने । हानका अनुसार, सरकारले आवश्यक सतर्कता अपनाएर होटल खुला गर्न अनुमति दिएको छ । अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गर्नेछन् भने रेस्टुरेन्ट सेवा खोलिने शाहले बताए ।
होटलका कर्मचारीलाई न्यूनतम स्वास्थ्य मापदण्ड पालना गराउनुपर्ने, न्यूनतम स्तर कायम गनुपर्ने, कर्मचारीलाई तालिम दिनुपर्ने जस्ता कारणले सञ्चालन खर्च बढ्छ । त्यसैले पर्यटक आगमन सुरु नभइ कुनै पनि होटल पूर्ण सञ्चालन सम्भव नभएको हानले जनाएको छ ।
धेरैजसो होटल सरसफाइ गर्ने, पाहुना आइ हाल्छन कि भनेर आशिंक रुपमा खोल्ने तयारी गरिएको हो । बन्दाबन्दी हटाएको भए पनि अहिले पनि हवाई तथा लामो दूरीको यातायात र सभा–सम्मेलनसहितका ठूला जमघटमा प्रतिबन्ध जारी छ । त्यसैले पनि होटल खोल्नुको कुनै अर्थ नदेखिएको हानले बताएको छ । होटल जति समय बन्द गर्यो उति नै धेरै मर्मत खर्च लाग्छ त्यसैले खुला गरेर गुणस्तरीयता कायम गरिरहनुपर्ने बाध्यता छ ।
त्यसो त जनवरीदेखि नै सुस्ताएको होटल व्यवसाय बन्दाबन्दी सुरु हुनुअगाडि नै धेरै तारे होटलहरू बन्द गरिएको थियो । लकडाउन ३ दिन अगाडि गएको ८ चैतदेखि नै बन्द रहेको बौद्धस्थित अन्तर्राष्ट्रिय चेन होटल तारागाउँ रिजेन्सी (हयात) अझै नखुल्ने भएको छ ।
सरकारले यूरोप, पश्चिम एशिया अन्तर्गत खाडी मुलुकहरू, टर्की, मलेसिया, दक्षिणकोरिया, जापानलगायत कोभिड–१९ प्रभावित मुलुकबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाउने सबै यात्रुलाई ७ चैतदेखि रोक लगाएपछि हायातले बन्द गर्ने निर्णय गरेको थियो । अब हवाई यातायात खुला भएर पर्यटक आउने अवस्था नभएसम्म होटल खुला नहुने भएको छ ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूरा गरेर मोफसलमा पनि आंशिक रुपमा होटल व्यवसाय खुल्ने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाले होटल खोल्न व्यवसायी तयार भएर बसेको बताएको छ । चितवनमा रहेका करीब १०० होटल १५ साउनदेखि नै खुला गरेर पाहुनाको सेवाका लागि तयार भएका छन् ।
प्रतिक्रिया दिनुहोस