aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मालपोत कार्यालय उदयपुरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
मालपोत कार्यालय उदयपुरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा पहिलोपटक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणबाट शुक्रबार मालपोत कार्यालयका खरिदार पदमा कार्यरत त्रियुगा नगरपालिका ९ का ३४ बर्षिय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

चार जना कर्मचारीमा गरिएको परीक्षणबाट उनलाई पोजेटिभ देखिएको मालपोत कार्यालयका प्रमुख नवराज खड्काले जानकारी दिए । उनले सेवाग्राहीको चाँप बढ्न थालेपछि सबैको परीक्षण गर्ने योजना भएपनि पिसीआर किट अभावकाकारण चार जनामा मात्र गरिएको बताए । 

खड्काले भने, ‘स्वास्थ्य प्रमुखलाई सबैको परीक्षण गर्न भनेका थियौँ, किट अभावको जानकारी आएपछि तत्काल चाँप हुने फाँटका साथीलाई प्राथामिकता दिएका हौँ ।’ उनले संक्रमितले परीक्षण गर्नु अघि नै सामान्य ज्वरो आउने, जिउ कट–कटी खाने वताएपछि लक्षणको आधारमा प्राथामिकता दिएको बताए । 

कोरोना पुष्टि भएसँगै स्थानीय प्रशासनले अर्को सुचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रदान गरिने सबै सेवा स्थगन गर्न मालपोत कार्यालयलाई अनुरोध गरेको छ । सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले अनिश्चितकालका सेवा ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । कार्यालयको सेवा ठप्प पारेसँगै संक्रमित कर्मचारीको ट्राभल हिस्ट्रि सुरु गरिएको उनले बताए । 

संक्रमितले भने आफ्नो फाँटमा बेलका नगरपालिका पनि पर्ने भएकाले त्यहाँका सर्वसाधरण सेवा लिन आउँदा सरेको हुन सक्ने बताएकाछन् । विहिबार मात्रै बेलका नगरपालिका ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण समुदायमा फैलिन सुरु गरेसँगै स्थानीय प्रशासनले कडाई गर्न थालेको छ । यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जानकारी दिए । 

उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ जना पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्रास बढ्यो 
सरकारी कार्यलयमा कोरोना भेटिएको यो घटनापछि सर्वसाधरण त्रसित बनेका छन् । नियमित जसो सेवा लिन आएका सर्वसाधरणसमेत आतंकित भएका छन् । धेरै जसोले टेलिफोन र मेसेजमार्फत आफुपनि सेवा लिन गएकोले परीक्षणको दायर बढाई दिन आग्रह गरको स्वास्थ्य कार्यालय प्रमुख सुबेदीले बताए । 

लकडाउन खुकुलो भएसँगै सामान्य बन्दै गएको जनजीवनमा कोरोना प्रतिको लापर्वाहि बढ्दो रहेको अवस्थामा यो घटनाले उच्च सतर्कता अपनाउन आवश्यक देखिएको स्थानीयको भनाई छ । 

जिल्ला स्थित सुरक्षा सम्यन्त्रले उच्च सतर्कतका लागि कदम अगाडी बढाइ सकेको जनाएको छ । सर्वसाधरणलाई माक्स सेनिटाइजर प्रयोग जस्ता कोरोना उच्च सतर्कता अपनाउन आह्वान सँगै अनुगमन समेत थालेको छ । 

बिहीबारबाट अनुगमन थालेको प्रशासन, नगरपालिका र सरोकारवाला निकायहरुले मास्क नगरेको पाइएमा जरिवाना गर्ने जनाएको छ । कडाईका साथ सतर्कता अपनाउन सर्वसाधरणलाई अपिल गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमप्रसाद दाहालले बताए ।

संक्रमित मलामी गएका थिए 
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका त्रियुगा नगरपालिका ९ का ३४ बर्षिय युवा बिहीबार आफन्त बिसाल दनुवार करेन्ट लागेर मृत्यु भएपछि मलामी गएका थिए । संक्रमण देखिएसँगै मलामी गएका करिव दुई सय सर्वसाधरण थप त्रासमा रहेको स्थानीयले बताएका छन् । 

मलामी गएका सबैलाई घर भित्रै बस्न प्रशासनले आग्रह गरेको छ । उनीहरुको तत्काल कोरोना नदेखिने भएकाले ४/५ दिन भित्रमा परीक्षण गरिने स्वास्थ्य प्रमुख सुबेदीले बताए । 

प्रतिक्रिया दिनुहोस