aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एकैदिन १० हजार बढीको पिसिआर परीक्षण गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
एकैदिन १० हजार बढीको पिसिआर परीक्षण गरियो

काठमाडौं । सरकारले शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै १० हजार बढीको पिसिआर परीक्षण गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गएको २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए।

यो एकैदिन गरिएको ठूलो परीक्षण संख्या हो। सरकारले पछिल्लो समय संक्रमणको जोखिम बढेसँगै परीक्षणको दायरा बढाएको छ। गत साता परीक्षण संख्या चार हजार वरिपरि घुमेको थियो। तर संक्रमित संख्या बढ्दै गएपछि परीक्षण पनि बढाइएको छ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाले असार १५ गतेदेखि नै दैनिक १० हजार जनाको परीक्षण गर्ने भने पनि त्यो पूरा हुन सकेको थिएन। मन्त्रालयले भने विदेशबाट आउने संख्या कमी रहेको र क्वारेन्टिनमा रहने व्यक्ति पनि कम रहेकाले परीक्षण संख्या घटेको बताउँदै आएको थियो।

तर, विज्ञहरूले भने लकडाउन अन्त्य भएसँगै जोखिम बढेको भन्दै परीक्षण बढाउन सरकारलाई सुझाउँदै आएका छन्। शुक्रबारसम्म देशभर ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस