aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सवारीसाधन सञ्चालनमा पुनः जोर विजोर प्रणाली लागू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
सवारीसाधन सञ्चालनमा पुनः जोर विजोर प्रणाली लागू

काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै गत असार २६ बाट हटाइएकाे जोर विजोर प्रणाली पूनः लागू गरेकाे हाे ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा  र उपत्यकाबाहिर २०० जना भन्दा  बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने जनाइएकाे छ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ५७ जना र ललितपुरका ५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस