aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

तीन हजार पैदल यात्रुलाई निःशुल्क मास्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
तीन हजार पैदल यात्रुलाई निःशुल्क मास्क

काठमाडौं ।  काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएसँगै चन्द्रागिरि नगरपालिकाले निःशुल्क मास्क वितरण गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बु र समुदाय प्रहरी साझेदारी ११ नम्बर वडा समितिले आज सडकमा मास्क नलगाई पैदल यात्रा गर्नेलाई निःशुल्क मास्क वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का अध्यक्ष हरिभक्त महर्जनले पछिल्लो समय उपत्यकामा कोभिड–१९ को जोखिम बढिरहेकाले बाटोमा हिँड्ने व्यक्तिलाई मास्क वितरण गरिएको जानकारी दिए । नगरपालिकाभित्रका सतुङ्गल बजार, विष्णुदेवी, खरिबोट, सिप्रदी, बालकुमारी, बलम्बु क्षेत्रमा झण्डै तीन हजार पैदल यात्रुलाई हालसम्म निःशुल्क मास्क वितरण गरिसकेको छ । 

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक खेमराज राउतले अनिवार्य मास्कको प्रयोग गरी, सामाजिक दूरी कायम राखेर यात्रा गर्न सबैलाई आग्रह गरे । प्रहरीले यात्रुलाई आवश्यक कामबाहेक घरबाहिर ननिस्कन, जोर बिजोर प्रणालीअनुसार यात्रा गर्न आग्रह गरेको छ । 

यस्तै महानगरीय प्रहरी वृत्त थानकोटले भने मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना गर्न थालेको छ । सरकारले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने बताइरहेको बेलामा प्रहरीले त्यसलाई कार्यान्वयन गर्नका लागि मास्क प्रयोग नगर्नेलाई जरिवाना गर्न शुरु गरेको हो ।  

बृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले माक्सको प्रभावकारी कार्यन्वयनका लागि चन्द्रागिरि नगरपालिकाभित्र ‘खै मास्क ?’ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए। थानकोट प्रहरीले चित्लाङ नाका हुँदै सवारी पासबिना उपत्यका प्रवेश गर्ने निजी तथा सार्वजनिक सवारी साधनका चालकलाई कारबाही गर्दै आएको छ । प्रहरीले सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरेको प्रनाउ श्रेष्ठले बताए । 

हालसम्म थानकोट प्रहरीले बिना पास उपत्यका भित्रिने २८ सवारी चालकलाई कारबाही गरिसकेको छ । आगामी दिनमा पनि उक्त अभियानलाई निरन्तरता दिने वृत्तले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस