
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा अझै पनि २७ प्रतिशतले मास्क नलगाएको देखिएको छ । परिषद्ले सार्वजनिक स्थलमा गरेको अध्ययनमा यस्तो देखिएको हो ।
३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरुमा अवलोकन विधिबाट अध्ययन गरेको थियो । ४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क लगाएका थिएनन् । मास्क लगाउनेमध्ये कपडाको मास्क १५.८ प्रतिशतले लगाएका थिए ।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मास्क लगाउने २७०३ मध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको बताए । ‘नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा झुण्ड्याउने वा मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको संख्या २७.३४ रहेको पाइएको छ ।’ उनले भने
तरकारी बजार, मल, बैंक, मालपोत, मठमन्दिर, होटलको अनुगमन गर्दा कमै स्थानमा मात्र भौतिक दुरी अर्थात २ मिटरको मार्किङ कमै स्थानमा मात्र गरिएको पाइएको छ । उनले भने, ‘मार्किङ गरिएका स्थानहरुमा समेत ३१.२५ प्रतिशत स्थानमा मात्र भौतिक दुरी कायम भएको भेटिएको छ । साबुन पानी र स्यानिटाइजर लगभग ६० प्रतिशतमा मात्र थियो ।’
निजी र सरकारी अस्पतालहरुमा ओपीडी, फार्मेसी र किटक काउन्टरमा भौतिक दुरीका लागि मार्किङ गरिएको भेटिएको । तर कुनै पनि अस्पतालको चमेना गृहमा मार्किङ छैन । २० प्रतिशत अस्पतालमा मात्र भौतिक दुरी कायम भएको थियो’ सदस्य सचिव ज्ञवालीले भने । ३० वटा सार्वजनिक यातायातको अनुगमन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एक पङ्तिको एक सिटमा यात्रु बस्ने लगायतका मापदण्ड पालना भएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस