aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुसले दर्ता गरायो पहिलो कोरोना खोप, पुटिनकी छोरीमा गरिएको थियो परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
रुसले दर्ता गरायो पहिलो कोरोना खोप, पुटिनकी छोरीमा गरिएको थियो परीक्षण

रुसको ग्यामेली इन्सटिच्यूटले कोरोना भाइरस विरुद्धको भ्याक्सिनको पहिलो मानवीय परीक्षण पुरा गरेको एक महिनापछि रुसले अन्तराष्ट्रियरुपमा नै कोरोना विरुद्धको खोप दर्ता गराएको छ । यसरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खोप बनाउने पहिलो राष्ट्र बन्न रुस सफल भएको छ । 

रुसले निर्माण गरेको र प्रयोगका लागि तयारी अवस्थामा छ भनिएको खोपबारे अन्तराष्ट्रियरुपमा नै संसय रहेको एसोसिएसन प्रेशले जनाएको छ । तर, त्यहाँका राष्ट्रपति भ्लादमीर पुटिनले सरकारी अभिकारीहरुसँगको बैठकमा आफ्नै छोरीसमेत यो खोपको परीक्षणमा सहभागी भएको खुलासा गरेका थिए । 

उनले भने, ‘म यो दोहोर्‍याउन चाहन्छु की यसले सबै आवश्यक परीक्षणहरू पुरा गरेको छ ।’ उनले अगाडि थपे, ‘यसको सबैभन्दा महत्त्वपूर्ण कुरा यो छ की यो खोप प्रयोगका लागि पुर्णरुपमा सुरक्षित छ र अत्यन्तै प्रभावकारी छ ।’

समाचारहरूमा उल्लेख भएअनुसार रुसले बनाएको यो खोपको एक डोज नै कोरोना भाइरस विरुद्धको प्रतिरोधात्मक क्षमता विकास गर्न पर्याप्त हुन्छ । यसको साइट इफेक्ट अत्यन्तै कम छ । पुटिनकी छोरी र अन्य केही व्यक्तिहरूमा खोप लगाएपछि हल्का ज्वरो आएको थियो । 

यसबारे थप कुरा गर्दै पुटिनले भनेका छन्, ‘जहाँसम्म मलाई थाहा छ कोरोना भाइरस विरुद्धको एउटा खोप संसारमै पहिलो पटक आज बिहान दर्ता भएको छ । म यो खोप निर्माणमा काम गर्ने सबैलाई धन्यावाद दिन चाहन्छु किनकि यो सारा संसारका लागि धेरै महत्त्वपूर्ण क्षण हो ।’

वास्तवमै, यहाँनेर स्मरणीय के पनि छ भने रसियासँग सम्बन्ध रहेका ह्याकरहरूले बेलायतमा भइरहेको अनुसन्धानबाट कोरोना भाइरस विरुद्धको खोप निर्माण सम्बन्धी महत्त्वपूर्ण सूचनाहरूको जासुसी र चोरी गरेको आरोप  लागेको थियो । सायद, यसै कारण पनि हुनसक्छ पुटिनले अगाडी थपेका छन्, ‘मलाई थाहा छ की यसले प्रभावकारीरुपमा र स्थिर ढंगले रोग प्रतिरोधी क्षमता बढाउँछ, अनि म दोहोराउन चाहन्छु यसले सबै आवश्यक परीक्षणहरू पुरा गरेको छ।’

खोपको प्रभावकारिता, र साइड इफेक्टबारे समेत पुटिनले स्पष्ट पार्दै भनेका छन्, ‘मेरी एउटी छोरीले खोप लगाइन्, यसको अर्थ उनी पनि परीक्षणमा सहभागी भइन् । पहिलो खोप लगाएपछि उनमा ३८ डिग्रिसेन्ट्रग्रेडको तापक्रम थियो । भोलिपल्ट मात्र ३७ डिग्री ।’

रुसले जनाए अनुसार यो खोपको सबैभन्दा पहिलो डोजहरू स्वास्थ्यकर्मी अरु जोखिममा रहेका मानिसहरुलाई उपलब्ध गराइनेछ । अनि त्यहाँका अधिकारीहरुले जनाए अनुसार यो खोप आम मानिसहरुको लागि आगामी वर्षको सुरुवातदेखि नै उपलब्ध हुनेछ । 

प्रतिक्रिया दिनुहोस