aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुसी कोरोना खोप विवादमा तानियो, आजदेखि अन्य देशमा परीक्षण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
रुसी कोरोना खोप विवादमा तानियो, आजदेखि अन्य देशमा परीक्षण गरिने

रुसले कोरोना भाइरस विरुद्धको खोप निर्माण गरेका समाचार मंगलबार सार्वजनिक भएपछि विश्वभर उत्साहको नयाँ तरङ्ग छायो  । अत्यधिक र अनौठो ढंगले बढी रहेको सुनको मूल्यमा समेत अप्रत्याशित र भारी गिरावट आयो । तर, सो खोपलाई अहिले नै मान्यता दिन नसकिने विश्व स्वास्थ्य संगठनको भनाई सँगै फेरि उत्साहका केही तुसारापात भएको छ । 

अझ रुसले बनाएको खोप १८ वर्षभन्दा कम उमेरका र ६० वर्षभन्दा बढी उमेरका मानिसहरूलाई लगाउने अनुमति नदिएको समेत समाचार सार्वजनिक भएको छ । फोन्टनका न्युज एजेन्सीमा गरिएको यो दाबी बाहेक डेल्ली मेलले पनि आफ्नो रिपोर्टमा गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरुलाईसमेत यो खोप नलगाइने उल्लेख गरेको छ । 

रुसका सरकारी दस्ताबेजहरूमा आधारित समाचारहरूका अनुसार उल्लेखित उमेर समूहका व्यक्तिहरूमा अहिले नै यो खोपको प्रयोग गरिने छैन । किनभने यो खोपले उनीहरूको स्वास्थ्यका कस्तो असर पार्छ भन्ने पुरा जानकारी हालसम्म प्राप्त भएको छैन । 

मंगलबार रुसी राष्ट्रपति भ्लादमीर पुटिनले रुस कोरोना भ्याक्सिन बनाउन सफल भएको भन्दै उत्साहपूर्ण घोषणा गरे पनि त्यसले रुस बाहिर भने केही चिन्ताहरू जन्माएको छ । विश्वभरका वैज्ञानिकहरूले रुसले निर्माण गरेको कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षण नै नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

यो खोप सुरक्षित र प्रभावकारी रहेको कुरा तेस्रो चरणको परिक्षण्बाट मात्रै पुष्टि हुने वैज्ञानिकहरूको दाबी छ । डब्लुएचओले पनि दोस्रो र तेस्रो चरणको परीक्षण पछि मात्रै खोपले काम गर्ने वा नगर्ने निदान गर्न सकिने जनाएको छ । 

तर, रुसले भने यसअघि गरिएको तेस्रो चरणको परीक्षणमा दुई हजार जना रसियन नागरिक सामेल भएको र अब साउदी अरब, युएई, ब्राजिल, मेक्सिको लगायतका मुलुकमा आज अर्थात् १२ अगस्टदेखि यो खोपको थप मानवीय परीक्षण गरिने जनाएको छ । रुसले यो खोपको नाम स्पुतनिक खोप राखेको छ । 
 

प्रतिक्रिया दिनुहोस