aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आलोचकलाई रुसको जवाफ– पत्यार लागे खोप लगाउनु, नत्र आफै विकास गर्नु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
आलोचकलाई रुसको जवाफ– पत्यार लागे खोप लगाउनु, नत्र आफै विकास गर्नु

रुसले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी आफूले सूचीकृत गरेको ६ वटा खोपहरू मध्येको नरहेको भन्दै विश्व स्वास्थ्य संगठनले मान्यता दिन अस्वीकार गरेपछि रुसले कडा जवाफ फर्काएको छ । 

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले रुसी समाचार एजेन्सी इन्टरफक्ससँग खोपको विरोध हुनुको कारण खोल्दै भनेका छन्, ‘यस्तो देखिँदै छ की हाम्रा विदेशी मित्रहरूलाई रुस औषधी प्रतिस्पर्धामा अगाडि जाने कुराले पिरोलेको छ । त्यसैले उनीहरू यस्ता कुरा गर्दै छन् जुन बिल्कुलै आधारहिन छ ।’ 

त्यसैगरि, स्पुतनिक–भी खोपको विकासमा लगानी गरेको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका सिइओ किरिल दिमित्रिभले पश्चिमी आरोप माथि प्रतिक्रिया दिँदै भनेका छन्, ‘वास्तवमै यो घटनाले विश्वलाई दुई भागमा बाँडेको छ । यसलाई महत्त्वपूर्ण खबर मान्ने र केही अमेरिकन मानिस र मिडिया जसले यो खोप विरुद्ध भ्रामक सूचना सम्प्रेषणको युद्ध नै चलाइरहेका छन् ।’

रुसले फर्काएको सबैभन्दा रोचक जवाफ यो छ की, ‘हामीले अमेरिकालाई कन्भिन्स गर्न प्रयत्न गरिरहेका छैनौँ । न त उनीहरुबाट कुनै राम्रा कुराको अपेक्षा नै गरेका छौँ । हाम्रो भनाई यति मात्र हो हामीसँग यो प्रविधि विकास गरेका छौँ । र, यदि कुनै मुलुकले यसलाई आफ्ना जनताहरूको उपचारका लागि प्रयोग गर्न चाहन्छ भने उनीहरूका लागि नोभेम्बर डिसेम्बर तिर यो खोप उपलब्ध गराउनेछौँ ।’ उनले अगाडी थपेका छन्, ‘यदि कसैलाई हाम्रो खोपमाथि शङ्का छ भने यो खोप नलगाए हुन्छ । साथै तिनीहरूलाई आफ्नै खोप विकास गरेर प्रयोग गर्न सकुन् भन्ने शुभकामना पनि दिन चाहन्छु ।’

दिमित्रिभले अगाडी दाबी गरेका छन् की रुसले यो खोप निर्माण सम्बन्धी सूचना र तंथ्याक बाँकी संसारलाई अवगत गराउनेछ । त्यसै बेला विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले मंगलबार रुसले दर्ता गरेको कोभिड १९ विरुद्धको खोपमा परीक्षण र पुनरावलोकन गर्ने समेत बताएका छन् । विश्व स्वास्थ्य संगठनले आफूले यस खोपको आम मानिसहरूमा प्रयोग गर्नु पूर्व यसबारे गम्भीर ढंगले सुरक्षा पुनरावलोकनसमेत गर्ने जनाएको छ । 
विश्वव्यापीरुपमा भइरहेको कोरोना भाइरस विरुद्धको खोप बनाउने प्रतिस्पर्धामा रुससँगै अमेरिका र चीन पनि छन् । अनि, यस्तो खोप निर्माण गर्ने पहिलो राष्ट्रले कति आर्थिक लाभ लिन सक्छ भन्ने सबैले बुझेका छन् । त्यसो हुँदा अर्कोले बनाएको भएन, ठिक छैन र मान्यता दिन्न भन्नु स्वाभाविक हो । यस्तो हुने गर्छ ।

मस्को स्थित ग्यामालिया रिसर्च इन्स्टिच्युटले रसियन रक्षा मन्त्रालयको सहयोगमा विकास गरिएको यो खोप वास्तवमै अमेरिकाको लागि भने निकै ठुलो टाउको दुखाइको विषय हो । किनकि अमेरिका कोरोना भाइरसका कारण भएको क्षति कोरोनाकै खोपबाट उठाउने दाउमा छ । त्यसैले अहिले आफ्नो प्रभाव प्रयोग गरेर इबोला भाइरस विरुद्ध प्रयोग गरिने रेमडेसिभिरलाई हालसम्मकै प्रभाकारी प्रमाणित औषधी भन्दै विश्वभरि बेचिरहेको छ । 

अरू त अरू नेपालसमेत अब यही औषधी किन्न अमेरिकालाई डलर बुझाउने तयारीमा लागिसकेका छ । जबकि अहिलेसम्म यो औषधी परीक्षणको प्रक्रियामा नै छ र कोरोना भाइरसलाई यसले मार्छ भनेर कुनै पनि अध्ययनहरूले देखाएका छैनन् । 

उता, चीन पनि बुहानबाटै फैलिएको कोरोनाको औषधी चिनियाँ भूमिबाट नै विश्वव्यापी गर्ने तयारीमा अहोरात्र खटिरहेको छ । त्यसैले पछिल्लो समयमा हर प्रकारका आविष्कार, खोज र अनुसन्धानमा आफूलाई अब्बल साबित गर्दै आएको चीन अरू कसैले बनाएको औषधीलाई मान्यता दिइहाल्ने अवस्थामा छैन । 

त्यसैले, अहिले पश्चिमा राष्ट्रहरू अरू केही नपाएर रुसले खोप बनाउँदा र यसको परीक्षण गर्दा धेरै चरणहरू पुरा नगरेको भन्ने आरोप लगाइरहेका छन् । तर, रसियाले भने त्यसलाई अमेरिकाले रुस विरुद्ध गरेको ठुलो सूचना सम्बन्धी महत्त्वपूर्ण युद्ध भनिरहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस