
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको छ । साउन २२ देखि २८ सम्म एकसाताका अवधिमा मात्रै ७ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् ।
कुन दिन कति थपिए ?
साउन २२ बिहिबार
बिहिबार काठमाडौं उपत्यकामा ८७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ७६ जना, भक्तपुरका १ जना र ललितपुरका १० जना गरि ८७ जना नयाँ संक्रमित थपिएका हुन् ।
साउन २३ शुक्रबार
शुक्रबार काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
शनिबार २४ साउन
शनिबार काठमाडौं उपत्यकामा ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौंका ५४ जना, ललितपुरका ३ जना र भक्तपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
आइतबार २५ साउन
आइतबार काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९० जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार २६ साउन
सोमबार काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
मंगलबार २७ साउन
मंगलबार काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
बुधबार २८ साउन
बुधबार काठमाडौं उपत्यकामा १३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जनाका कोरोना संक्रमण देखिएको हो ।
विहीबार २९ साउन
आज काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ रहेको छ । जसमा १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।
साउन २२ देखि २८ सम्म एकसाताका अवधिमा ३१ जनाले ज्यान गुमाएका छन् । आज थप चार जनाले ज्यान गुमाए । साउन २८ गते ४६४ जना नयाँ पोजेटिभ देखिँदा त्यसमा १३९ जना काठमाडौँ उपत्यकाका थिए । त्यसमा पनि १०९ जना काठमाडौँ जिल्लाका भेटिए । धनुषाका दुई तथा काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एकएक गरी बुधबार एकै दिन सबैभन्दा बढी आठ जनाले ज्यान गुमाए । आजसम्म ९५ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । साउन २७ गते ६३८ नयाँ सङ्क्रमित थपिएकामा उपचारका क्रममा रहेका काभ्रेपलाञ्चोक, धनुषा, सिन्धुपाल्चोकका गरी चार जनाको मृत्यु भयो । उपत्यकामा १३६ नयाँ सङ्क्रमित भेटिए ।
साउन २६ गते चार जनाले ज्यान गुमाए । त्यस दिन ३३८ नयाँ संक्रमितमध्ये ४४ जना उपत्यकाका थिए । साउन २५ गते ३८० जनामा देखिँदा उपत्यकाका ९२ जना थिए । त्यस दिन दुई जनाले ज्यान गुमाए । साउन २४ गते ३७८ जनामध्ये उपत्यकामा ६२ जनामा देखियो । त्यसदिन तीन जनाले ज्यान गुमाए । साउन २३ मा ४६२ जनामा देखिएको थियो । उपत्यकामा मात्रै १०६ जना भेटिए । त्यस दिन पाँच जनाको मृत्यु भएको थियो ।
साउन २२ गते ३७० जना सङ्क्रमित हुँदा उपत्यकामा ८७ जना थिए । त्यस दिन पनि पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मात्रै ५२५ नयाँ सङ्क्रमित थपिए । हालसम्म झण्डै २५ हजार सङ्क्रमित फेला परेका छन् । मुलुकमा उपचारपछि निको भएको दर भने आशालाग्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ६८ दशमलव ५ प्रतिशत छ । अहिले सरकार परीक्षणको दायरा बढाउँदै दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्न सक्ने अवस्थामा पुगेको छ ।
उच्च सावधानी अपनाइँदै
सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ । यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो ।
भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिले झैँ खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ ।
सक्रिय सङ्क्रमित २०० भन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घसंस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्नसमेत सरकारले निर्देशन दिएको छ ।
मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी आजदेखि लागू हुने गरी तत्काल सवारी पास वितरण बन्द गर्न भनेको छ ।
फुटपाथ, खुला ठाउँ, ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका व्यवसायलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय पनि भएको छ । उद्योग कलकारखानामा भने आवश्यक स्वास्थ्य मापदण्डअनुसार मात्रै सञ्चालन गर्न पाइने छ ।
चीनको उहानमा गत डिसेम्बर ३१ मा देखिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिएपछि सरकारले गएको चैत ११ गतेदेखि बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेको निर्णयले साउन ६ गते रातिदेखि लकडाउन अन्त्य भएको थियो । वैशाख र जेठमा अत्यधिक बढेको कोभिड–१९ असारमा केही कमी देखिए पनि साउनमा ह्वात्तै बढेको छ ।
सङ्क्रमणमा केही कमी आएपछि सरकारले जेठ २९ गते लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधि चलायमान बनाएको थियो । त्यसको आज ठीक दुई महिना पुग्दा कोरोना रोकथाम हुनाको सट्टा क्रमशः बढ्दो क्रममा रहेको विवरणले देखाउँछ ।
अझै सचेत छैनन्
कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारको मात्रै प्रयासले पुग्दैन, सबै नागरिक पनि सचेत हुनुपर्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा.अनिल कार्की आमसमुदाय चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सुझाव दिन्छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोनाबाट बच्न करीब ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । त्यसमा पनि ६२ प्रतिशतले मात्रै सही तरिकाले लगाउँछन् ।
परिषद्का सदस्य सचिव प्राडा प्रदीप ज्ञवालीकाअनुसार मास्क नलगाउनेको सङ्ख्या झण्डै २८ प्रतिशत छ । मास्कको बेवास्ता गरी लगाउनेको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत पाइए ।
काठमाडौँ उपत्यकाका २३ सार्वजनिकस्थल तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा उक्त अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस