
काठमाडौं । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हटाउन गरिएको एउटा प्रयास असफल भएको छ । फेसबुकको वार्षिक साधारणसभामा भएको मतदानपछि जुकरबर्ग नै प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने भएका छन्।
फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ । उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै उनी हार्ने थिए। उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छाड्दा जुकरबर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पुर्याउन सक्ने तर्क गरेका थिए।
जुकरबर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो। 'संसारको एउटा विशाल कम्पनीमा अहिले जुकरबर्ग दुईवटा महत्त्वपूर्ण पद ओगटेका छन्। यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ' ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले बीबीसीलाई मतदानअघि भनेका थिए ।
प्रतिक्रिया दिनुहोस