aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
जुरिचले प्रस्ताव

कहिले बन्छ निजगढ विमानस्थल, के गर्दैछ जुरिच ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
कहिले बन्छ निजगढ विमानस्थल, के गर्दैछ जुरिच ?

काठमाडौं । खर्च तथा अन्य व्यवस्थापन मिलाउन नसक्दा त्यसै त ढिला भइरहेको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अझ ढिला हुने भएको छ । ४ खर्ब रुपैयाँ निर्माण लागत लाग्ने अनुमान गरिएको निजगढ विमानस्थल निर्माणको जिम्मा पाएको स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले एक वर्षसम्म प्रस्ताव नै पेस नगरेपछि एयरपोर्ट निर्माण कार्य ढिला हुने भएको हो । लगानी बोर्डमार्फत अगाडि बढाइएको एयरपोर्ट निर्माणका लागि गत ३ माघमा जुरिचसँग व्यावसायिक र प्राविधिक प्रस्ताव माघ गरिएको थियो । ४५ दिनको म्याद दिएर प्रस्ताव पेश गर्न भने पनि हालसम्म पनि जुरिचले प्रस्ताव पेस गरेको छैन । 

गत वर्ष लगानी बोर्डले सम्मेलनमा निजगढ विमानस्थल निर्माण गर्न प्रस्ताव पेस गरेका सात कम्पनीमध्ये अन्यलाई प्राविधिक र वित्तीय रूपमा अयोग्य भन्दै जुरिचलाई छनोट गरेको थियो । लगानी बोर्डले लगानी सम्मेलनको समयमा राखेका आयोजनामध्ये सबैभन्दा आकर्षक परियोजना भन्दै निजगढ विमानस्थलको प्रचार गरिएको थियो । 

सोही कारण विश्वका उत्कृष्ट कम्पनीहरू चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड, फ्रान्सको भिन्सी ग्रुप, भारतको जिएमआर, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र नेपालको म्याट्रिक्स इन्टरप्राइजेज प्रालिले विमानस्थल निर्माण्को लागि प्रस्ताव पेस गरेका थिए । यी सबैसँगको सर्ट लिष्ट नै  नगरी स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट कम्पनीसँग थप प्रक्रिया अघि बढाउने निर्णय ६ असोज २०७६ मा गरेको थियो ।

गत ३ माघ गरिएको प्रस्तावको नआएपछि म्याद थपेर सरकारले म्याद थप गरेर असोजको दोस्रो सातासम्म पुर्याएको छ । अहिले विश्वव्यापी महामारी कारण फेरि पनि प्रस्ताव आउनेमा निश्चितता भने नभएको सरोकारवालाहरूले बताएका छन् । यदि कम्पनीले प्रस्ताव पठाएन भने एयरपोर्ट निर्माण कार्य अन्योलमा पर्ने देखिएको छ । यदि १४ असोजसम्म पनि प्रस्ताव नपठाएमा नयाँ प्रक्रियाबाट एयरपोर्ट निर्माण कार्यलाई अगाडि बढाउनु पर्ने भएको छ । 

स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले निजगढ एयरपोर्ट बनाउने भनेर लगानी बोर्डले बताएको थियो । तर, कम्पनीको मलेसियास्थित कार्यालयबाट प्रस्ताव हालिएको विषय पछि खुलेपछि अहिले लगानी बोर्डले पनि मलेसियन कम्पनीसँगै पत्राचार गरेर प्रस्ताव राख्न भनेको छ । 

सर्वोच्च अदालतले तत्काल एयरपोर्ट क्षेत्रमा रूख नकाट्नु भनेर दिएको अन्तरिम आदेशलाई कारण जुरिचले प्रस्ताव पेस गर्न ढिलाइ गरिरहेको भन्ने भनाइ आएका छन् । यद्यपि निजगढ विमानस्थल निर्माणमा कटान गर्नुपर्ने रूखको गणना गर्न वन मन्त्रालयले सुरु गरेको छ । पर्यटन मन्त्रालयकोे आग्रहपछि वन विभागमार्फत जिल्ला वन कार्यालयले रूख गणना सुरु गरेको हो । पहिलो चरणमा १ लाख १५ हजार ठूला रूख र ४ लाखभन्दा बढी साना रूख कटान हुने अनुमान रहेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको सेक्टर वन कार्यालय, निजगढद्वारा विमानस्थल वरिपरि सडक निर्माणका निम्ति गणना गरिएका ४ हजार २ सय ३२ वटा रूखहरूको कटान गर्नुपर्ने देखिएको छ । सो रुखहरू कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्समक्ष पेस गरेको छ । 

कोरोनाको कारण देखाउँदै प्रस्ताव पेशको म्याद अझै थप्ने लविङमा जुरिच लागेको बुझिएको छ । जुरिचले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत उसैलाई दिनुपर्ने सर्त राखेको छ । तर, पर्यटनमन्त्री योगेश भट्टराईले सेप्टेम्बरसम्मलाई दिएको म्यादमा जुरिचले प्रस्ताव नपठाए अन्य विकल्प खोज्ने यसअघि नै बताएका छन् । जुरिचले भारतको नोइडामा निर्माणाधीन विमानस्थलमा अहिले काम गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस