
एजेन्सी। युरोप, उत्तर अमेरिका र एसियाका विभिन्न क्षेत्रमा धेरै नै पाउन थालिएको कोरोनाभाइरसको म्युटेसन बढी संक्रामक तर कम घातक रहेको पाइएको एक शीर्ष संक्रामक रोग विशेषज्ञ डाक्टरले बताएका छन् । नेशनल युनिभर्सिटीका शीर्ष सल्लाहकार तथा इन्टरनेशनल सोसाइटी अफ इन्फेक्सियस डिजजका अध्यक्ष पाउल ताम्बयाले डी६१४जी म्युटेसनको पोलिफिरेसन विश्वका केही भागमा मृत्युदरमा आएको कमीसँग मिलेको बताउँदै यसले भाइरस कम घातक बनेको संकेत मिलेको बताएका हुन् ।
बीबीसीले रोयटर्सलाई उदृत गर्दै लेखेको छ ‘सायद एउटा भाइरस बढी संक्रामक तर कम घातक हुनु राम्रो कुरा हो,’ उनी भन्छन् । उनले समयसँगै अधिकांश भाइरस कम खतरनाक बन्ने पनि बताए ।
‘धेरैभन्दा धेरैलाई संक्रमित बनाउने तर उनीहरुलाई नमार्नेमा भाइरसको चासो हुन्छ किनभने उसलाई खाना र वासस्थानको लागि शरीर चाहिन्छ,’ उनको भनाइ छ ।
त्यसो त वैज्ञानिकहरुले फेब्रुअरीको सुरुवातमा नै युरोप र अमेरिकामा फैलिएको भाइरसमा म्युटेसन भएको पाइएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै बताएको थियो । म्युटेसनले भाइरसलाई अझै घातक बनाएको भन्ने कुनै प्रमाण नपाइएको डब्लूएचओको भनाइ थियो ।
आइतबार मात्र मलेसियाका स्वास्थ्य विभागका महानिर्देशक नुर हिसाम अब्दुल्लाहले नयाँ दुई क्लस्टरमा कोरोनाभाइरसको डी ६१४ जी म्युटेसन पाइएको भन्दै थप निगरानी बढाउन आग्रह गरका थिए ।
नुरु हिसामले डी ६१४ जी स्ट्रेन पहिलेभन्दा १० गुणा बढी संक्रमक रहेको बताए । यद्यपि, यो म्युटेसनले खोप निर्माणमा भने कुनै असर नगर्ने स्वास्थ्य अधिकारीहरुको भनाइ छ । म्युटेसनले भाइरसलाई त्यति मात्रामा परिवर्तन गरेको छैन जसले खोप निर्माणको प्रक्रियालाई असर गरोस् ।
सिंगापुरमा पनि कोरोनाभाइरसको म्युटेसन पाइएको छ तर प्रतिबन्धका नियमहरुले भाइरसको संक्रमणलाई रोक्न सफल भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस