
काठमाडौं । अस्पताल भर्ना भएका र गम्भीर बिरामी परेका कोरोना भाइरस सङ्क्रमितहरूको उपचारमा प्रयोग भइरहेको एउटा औषधिको नेपालमा पनि परीक्षण सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्। उक्त औषधि केही अघिदेखि नै नेपालका कतिपय चिकित्सकले बिरामीका लागि सिफारिस गरेको र महँगो मूल्यमा खरिदबिक्री समेत भइहरेको विवरणहरू सार्वजनिक भएका छन्।
सरकारी अधिकारीहरूले पनि त्यसबारे आफूहरूलाई पनि जानकारीमा आएको र त्यसो गर्न नमिल्ने बताएका छन्। उनीहरूका अनुसार उक्त औषधि परीक्षणका लागि तोकिएको अस्पताल र चिकित्सकहरूले बिरामीको लिखित पूर्वस्वीकृतिमा मात्र प्रयोग गर्न सक्नेछन्।
औषधि कुन हो ?
नेपालमा कतिपय बिरामीका लागि हाल महँगो मूल्यमा किनिएको भनिएको औषधि इबोला भाइरसको उपचारका लागि विकास गरिएको रेम्डेसिभीर हो।
विभिन्न देशहरूमा त्यसको परीक्षण भइरहेको छ। सुरुमा उक्त औषधिलाई अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा आकस्मिक औषधिका रूपमा प्रयोग गर्न स्वीकृति दिएको थियो। अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने उक्त औषधिलाई विश्वका विभिन्न देशहरूका कम्पनीहरूले पनि उसकै स्वीकृतिमा उत्पादन गरिरहेको जानकारहरू बताउँछन्।
उक्त औषधिको विश्व स्वास्थ्य सङ्गठनको सोलिड्यारिटी ट्रायल अर्थात् ऐक्यबद्धता परीक्षण अभियानमा परीक्षणमा नेपाल पनि सहभागी हुने तय भएको थियो। तर, सङ्गठनले हाल नेपाललाई उक्त औषधिको अभावमा तत्कालै उपलब्ध गराउन नसक्ने जनाएपछि सरकार आफैँले परीक्षण गर्न लागेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारीले जनाएका छन्। बीबीसी
प्रतिक्रिया दिनुहोस