aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पानी उड्ने उडाइनो झरनामा भीड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ भदौ २०७७
पानी उड्ने उडाइनो झरनामा भीड

गलेश्वर । कोभिड १९ को सङ्ंक्रमणका कारण  चिन्तित भएका मानिसहरुका लागि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा स्थित पानी उड्ने उडाइनो झरना मन बहलाउने र रमाइलो गर्ने गन्तब्य बनेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर सुर्केमेला बरञ्जा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया  फाँटहरु कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ । 

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरु हेर्दै करिब दुई किलोमिटरको यात्रा पछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । करिब दुई सय मिटर उचाईको कोप्रे छहरा र २५०  मिटर उचाको उडाइनो झरना मुख्य सडकको सय सय मिटर दक्षिणी भागमा अवस्थित छ ।

 मुख्य पहाडनै काटिएर अंग्रेजी अक्षर भी  आकारमा माथिदेखि तल फैलंदै अर्धसोली आकारमा यस झरना झरिरहेको छ ।  यहाँ दैनिक ५० देखि दुई सय युवक युवती पुग्छन् । यहाँ दुईवटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । कोरोनाको त्रासबाट आजित युवाहरु आएर रमाइलो गर्दै दिन विताउने गरेका बेनी नगरपालिका ३ का वडासदस्य गेमबहादुर घर्तीमगरले बताए ।

बेनी नगरपालिका २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका ३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षण हुन् । बेनपा ३ भकिम्लीको तोराखेतवाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा वग्ने गर्दछन्  । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

झरना सदरमुकाम बेनीबजारदेखि करिव ४५ मिनेटको दुरी र बेनी—बगरफाँट—वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एकहजार मिटर दक्षिणमा पर्दछ ।    म्याग्दीका बुद्धिजीवि एवम् इतिहाँसका अध्येता चन्द्रप्रकाश वानियाँले म्याग्दी नदीको पानी लिपm्ट गरेर भएपनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभै पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उहाँको भनाइ छ ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपंक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् । अन्य दिनभन्दा छुट्टिको दिनमा यहाँघुम्न आउनेको संङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोर किशोरी र युवा समुहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीय स्थल लव्ली हिल पछिको दोश्रो बढी तस्वीर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका  छवी आचार्यले बताए ।

 पैदल वा सवारी दुबैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा  थप इट्टा थपिने उहाँको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधाराको विकास गर्ने हो भने भकिम्ली बेलढुंगा तथा मंगला गाउँपालिकाको झाँक्रीपानी सम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाहरुले बताएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस