aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

उपत्यकाका समुदायमा कोरोना संक्रमण फैलियो भने नियन्त्रण गर्न सकिदैनः स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
उपत्यकाका समुदायमा कोरोना संक्रमण फैलियो भने नियन्त्रण गर्न सकिदैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । उपतयकामा दैनिक एक सय भन्दा बढी कोरोनाका बिरामीहरु थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलियो भने नियन्त्रण गर्न नसकिने बताएका छन् । कोरोनाको दैनिक प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता गौतमले भने, ‘हामीले धेरै पटक भनिरहेका छौँ, काठमाडौंमा कोरोना संक्रमणको दर बढीरहेको छ ।

उपत्यकाको जनसंख्या झण्डै ५० लाख छ । यहाँ कोरोना संक्रमण समुदाय स्तरमा पुग्यो भने यसलाई कन्ट्रोल गर्न सकिदैन ।’ उनले थपे, ‘मैले भेला, सम्मेलन, जुलुस नगर्न समेत सचेत गराएको थिए । यसको राम्रसँग पालना नभएको हुनाले, जनसंख्याको मापदण्ड फलो नगरेको, अत्यावश्यक काम पर्दा पनि घर बाहिर निस्किएको, मास्क नलगाएको, साबुन पानीले हात नधुएको र सेनिटाइजरको प्रयोग नगरेकोले संक्रमणको दर बढेको छ । ’

साथै उनले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताएका छन् । प्रवक्ता गौतमले चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाडौंमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको जानकारी दिए । उनले स्वास्थ्यकर्मीलाई गरिने दुर्व्यवहार सह्य नहुने भन्दै दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्न, भोक र तिर्खा नभनी डाइपर समेत लगाएर बिरामीको सेवामा खटिइरहेको बेलामा उनीहरुलाई सघाउनु सबैको कर्तव्य भएको बताए । 

प्रवक्ता गौतमले जनसंख्याको मापदण्ड फलो गर्न समेत सचेत गराए । साथै, उनले आज काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस