
भक्तपुर । भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
आजसम्म जिल्लामा कूल ११३ महिला र १९४ पुरुष गरी कूल ३०७ मा कोरोना सङ्क्रमण भएको कोभिड सूचना व्यवस्थापन केन्द्रका अस्मिता पवनले जानकारी दिइन् । मध्यपुरथिमि नगरपालिकामा ५१ महिला र ६३ पुरुष गरी ११४ मा सङ्क्रमण रहेको उनले जानकारी दिइन् ।
मध्यपुरथिमि पछि सूर्यविनायक नगरपालिका क्षेत्रमा सङ्क्रमण बढ्दै छ । सूर्यविनायक नगरपालिकामा २७ महिला र ५० पुरुष गरी ७७, भक्तपुर नगरपालिकामा २२ पुरुष र २५ महिला गरी ४७, र सबभन्दा कम चाँगुनारायण नगरपालिकामा भने सशस्त्र प्रहरी सहित ५ महिला र ३४ पुरुष गरी ३९ जनामा सङ्क्रमण पुष्टी भएको छ ।
जिल्लामा आज थप भएकोमा भक्तपुर नगरपालिकामा एक महिलासहित तीन पुरुष, मध्यपुरथिमिमा एक ९ वर्षीय बालक र ६ महिला र सूर्यविनायकमा एक पुरुष र दुई महिलामा कोरोना सङ्क्रमण भएको छ भने चाँगुनारायणमा सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय प्रम्ख मिजारले जानकारी दिए ।
चाँगुनारायण नगरपालिका अन्तर्गत सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटमा कार्यरत २० प्रहरीलाई गतशनिवार एकैसाथ सङ्क्रमण देखिएको थियो । चाँगुनारायणको स्थानीयस्तरमा भने महिला पाँच र पुरुष १४ रहेको केन्द्रका पवनले जानकारी दिए । सङ्क्रमितमध्ये २ को मृत्यु भएको, ६४ निको भएर घर फर्किएको, ९१ जना होम आइसोलेसनमा रहेको, २ जना सम्पर्कमै नआएको, डाक्टर तथा नर्स गरी तीन जनाको अन्यत्र उपचार भइरहेको, केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खरिपाटीस्थित विद्युत प्राधिकरणको आइसोलेसनमा ११ महिला र ५ पुरुष रहेका छन् । विदेशबाट आएका तर लक्षण नदेखिएका सङ्क्रमितलाई पनि यहाँ राख्ने गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुरमा स्थानीय दुईजनाको मृत्यु भएको छ । गतशनिबार एकजना सूर्यविनायक निवासी एक ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौंको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । यसअघि सूर्यविनायक नपा १ निवासी ६८ वर्षीया एक महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।
आइतबार पनि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना भाइरस सङ्क्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो । मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचार भइरहेको र आइतबार डायलोसिसका लागि भक्तपुर ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
भक्तपुरमा गएको वैशाख ३० गते पहिलोपटक दुईजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका वासिन्दा रहेकाे जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस