
हङकङमा कोरोना भाइरसका संक्रमित निको भइसकेका एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि संक्रमण देखिएको छ । संक्रमण दोरिनेमा ३० वर्षका व्यक्ति रहेका छन् । कोरोना संक्रमण दोहोरिएको पाउनु विश्वकै यो पहिलो घटना हो।
यसरी कोरोना संक्रमण दोहोरिएकोमा वैज्ञानिकहरु चिन्तित भएको बीबीसीले उल्लेख गरेको छ । तर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक जना बिरामीकै आधारमा यसै हुन्छ भनेर निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ।
यस्तै विशेषज्ञले पनि दोहोरिएर संक्रमण देखिनु निकै दुर्लभ कुरा भए पनि यो अत्यन्त गम्भीर हो भन्न नमिल्ने बताएका छन्। हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार पहिलो संक्रमणबाट मुक्त हुनुअघि ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए। तर निको भएर विमानस्थलमा स्क्रिनिङ गर्ने क्रममा पुनः उनमा कोरोना देखिएको हो। तर उनमा कुनै लक्षण छैनन्।
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनले यो एकदमै दुर्लभ घटना भएको बताए। उनले भने, ‘यसैकारण कोरोनाविरुद्ध खोप अति आवश्यक छ। यो भाइरसले समयअनुसार आफ्नो स्वरूप परिवर्तन गर्ने आशंका छ।’
जुन व्यक्ति कोरोनाबाट संक्रमित भई निको हुन्छन्, उसको शरीरमा प्रतिरक्षा प्रणाली विकास हुन्छ र उसलार्ई दोहोर्याएर भाइरसले आक्रमण गर्न सक्दैन।
वैज्ञानिकका अनुसार ती संक्रमणबाट मुक्त ती व्यक्तिको प्रतिरक्षा प्रणाली सबैभन्दा बलियो गरी विकास भएको पाइयो, जो कोरोनाबाट गम्भीर बिरामी परेका थिए।
प्रतिक्रिया दिनुहोस