aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विज्ञहरुको सुझाव: प्लाज्मा बैंक  बनाउन  र नि:शुल्क मास्क वितरण गरौं

  • रासस
    रासस
  • बुधबार, १० भदौ २०७७
विज्ञहरुको सुझाव: प्लाज्मा बैंक  बनाउन  र नि:शुल्क मास्क वितरण गरौं

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे आज मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आह्वान गरेका छन । मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्छ भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए । 

छलफलमा डा महेश मास्केले कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर नगएको जनाउँदै सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि सङ्क्रमणको दर घट्दोक्रममा रहेको बताए । उनले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको र  सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए । विज्ञ प्रा डा जीवन शेरचनले सरकारले निःशुल्क मास्क वितरणको व्यवस्था मिलाउनुपर्ने विचार राखेका थिए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा भगवान कोइरालाले दशैँलगायत महत्वपूर्ण चाड नजिकै आइसकेका सन्दर्भमा स्वास्थ्य मापदण्ड बनाएर नागरिकलाई सहजीकरण गर्नुपर्ने बताए । उनले अस्पताल सङ्क्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए ।

 नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलि बढी ध्यान दिनुपर्ने बताए । शुक्रराज ट्रपिकल तथा   सरुवा रोग अस्पतालका  डा अनुप बाँस्तोलाले भेन्टिलेटरमा जानेभन्दा पनि अक्सिजन थेरापीलाई महत्वका साथ अघि बढाउनुपर्ने बताउँदै अक्सिजन थेरापी भेन्टिलेटरभन्दा राम्रो र प्रभावकारी रहेको विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस