aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

उदयपुरका तीन नगरपालिकामा हट्यो निषेधाज्ञा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
उदयपुरका तीन नगरपालिकामा हट्यो निषेधाज्ञा

उदयपुर । उदयपुरका तीन नगरपालिकामा १५ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले सिमामा कडाई गर्दै आउँदो शनिबार देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 

बैठकले कोरोना भाईरसको भयाभह अवश्था रहेका सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा वाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका वाहेका व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताए ।  

उनले भने, ‘बेलकाको कोठु र आम्बासी, चौदण्डिगढीको सिवाइ, त्रियुगाको लालपत्ता र कटारी नगरपालिकाको बेलसोत क्षेत्र प्रत्यक्षरुपमा तराईका जिल्लासँग जोडिएकाले यी क्षेत्रबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको हो ।’ 

बैठकले कोरोना भाईरसको सुरुदेखिको अवश्थालाई समिक्षा गर्दै जोखिम रहेपनि परिस्थिति केहि सहज बन्दै गएकाले सर्वसाधरणको दैनिकीलाई सहज बनाउन सुचारु गर्ने निर्णय गरेको उनले बताए । 

मालपोत कार्यालयका सात जना कर्मचारी र बेलका नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएसँगै स्थानीय प्रशासनले पहिलोपटक साउन २८ गते राती १२ बजेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । 

संक्रमितका सम्र्पकमा आएका व्यक्तिलाई निगरानीमा राख्ने र उनीहरुको पिसिआर परीक्षणलाई तिव्रता दिने भन्दै प्रशासनले पहिलोपटक १० दिन र दोश्रोपटक भदौ ७ देखि १२ गतेसम्म पाँच दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । 

विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सम्र्पकमा रहेका व्यक्तिलाई १४ दिनसम्म राख्दासमेत कुनै लक्षण देखानपरेको र पिसिआर रिर्पोटसमेत नेगेटिभ आएपछि केहि खकुलो बनाएको प्रजिअ पाण्डेले बताए । 

निषेधाज्ञा हटेपनि सरकारले प्रतिवन्ध गरेको होटल, रेष्टुँरा, सैलुन, व्युटीपार्लर, जिमहाउस, पार्टीप्यालेस, मठमन्दिर र अन्य भेला हुने कार्यक्रम भने पुर्ववत अवस्थामै रोक लगाउने निर्णय भएको उनले बताए । 

यसकासाथै खाद्यान्न र अतिआवश्यक सवारीसाधन वाहेकका सवारीलाई जिल्ला वाहिर आउँजाउँमा रोक लगाउने, उपभोग्य सामग्री लिएका आएका सवारीलाई लालपत्तामा सेनिटाईजर गर्ने, चालक र सहचालकलाई भुईमा झर्न नदिई अनलोड गर्ने, नाकामा ज्वरो नाप्ने यन्त्र राख्ने लगायतको निर्णय भएको प्रजिअ पाण्डेले बताए । 

जिल्लामा १ सय ११ जनामा कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये २२ जना उपचारमा छन् भने बाँकी सबै जना उपचार पछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए । 


 

प्रतिक्रिया दिनुहोस