
काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले नेपालका कोरोना भाइरसका संक्रमित मध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा डा. तिवारीले यस्तो बताएका हुन् ।
उनले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा कोरोना समुदायमा फैलिएको उनले बताए।
उनले भने, ‘हट स्पट बनेका यी क्षेत्रमा समुदायमा संक्रमण भएको छ। यी जिल्लामा नियन्त्रण र परीक्षण दायरालाई बढाउनु पर्छ । त्यसो गरे नियन्त्रणमा हामीले सफलता प्राप्त गर्न सक्छौँ।’ उनले विभिन्न तथ्यांकका आधारमा कोरोना समुदायमा फैलिएको भन्न सकिने बताए।
‘एक महिनाअघि संक्रमित महिलाको संख्या ८ प्रतिशतको हाराहारीमा थियो। अहिले यो बढ्दै गएको छ र २२ प्रतिशत पुगेको छ,’ उनले भने, ‘वृद्धहरुमा समेत संक्रमणको दर बढेको छ। संक्रमण बढी भएको जिल्लाहरुमा ९६ प्रतिशत केस स्थानीय भएको देखिएको छ।’
मृत्यु हुने क्रम पनि विस्तारै वृद्धहरुतर्फ सदैए गएको उनले बताए। उनका अनुसार परीक्षण गरिएको संख्यामा संक्रमित भेटिने दर अर्थात् ‘पोजेटिभिटी रेसियो’ पनि बढेको छ। जुन अहिले अहिले ९ प्रतिशत हाराहारी पुगेको छ।
"अहिले हामी कोरोनाको युद्धमा छौं । यसलाई जित्न जनस्वास्थ्यको मापदण्ड पालना गरेर नै लड्नुपर्ने छ," उनले थपे, “विश्वको तुलना गर्दा कोरोनाको संक्रमण आर्तिनुपर्ने अवस्थामा छैनौं । १२ जिल्लामा कोरोना नियन्त्रण गर्न सकेमा अन्यमा फैलिँदैन,” उनले भने । जनस्वास्थ्यका मापदण्डको पालना गरेर आर्थिक र सामाजिक गतिविधिहरु विस्तारै सुचारु गर्न सकिने पनि उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस