aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आयूर्वेदिक औषधि कोरोनाको उपचारमा परिक्षण गरिने, पहिलो चरणमा एक सयजनाबाट शुरु गर्ने

  • बीबीसी
    बीबीसी
  • आइतबार, २१ भदौ २०७७
आयूर्वेदिक औषधि कोरोनाको उपचारमा परिक्षण गरिने, पहिलो चरणमा एक सयजनाबाट शुरु गर्ने

काठमाडौं । सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधीको परीक्षण अघि बढाइएको जनाएको छ। त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा=प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गरिँदैछ।

उनले भने, सामान्य लक्षण देखिएकालाई दिने हो, त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो त्यो हेरिन्छ साथै रगतमा केही परिवर्तन आए नआएको जाँच हुन्छ। उनका अनुसार जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको उक्त आयुर्वेदिक औषधी बिरामीलाई खाना खानुअघि खुवाउने हो।

मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उनले जानकारी दिए। डा. ज्ञवालीले भने, 'सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रदेश ५ को समन्वयमा त्यहाँका आयुर्वेदिक केन्द्रका डाक्टरहरू र काठमाण्डूबाट गएको अनुसन्धान टीमको संलग्नतामा आजभोलिमै औषधी दिने योजना छ।'

तर त्यो औषधी गम्भीर समस्या देखिएकाहरूलाई दिइने छैन। उक्त औषधीबारे यसअघि चीन र भारत लगायतका देशमा पनि अनुसन्धान र अध्ययन भएको र त्यसको साइड इफेक्ट नभएको उनले जानकारी दिए।

कोरोनाभाइरसविरुद्ध फ्याबिपिरबिर नामको औषधीको प्रभावकारिताबारे पनि अध्ययन गर्ने योजना रहेको अधिकारीहरूले जनाएका छन्। उक्त औषधी नेपालमा पनि उत्पादन भइसकेको बताउँदै डा। ज्ञवालीले भने, 'स्वास्थ्य मन्त्रालयले कागजपत्र हेरेर अनुमति दियो र औषधी व्यवस्था विभागले विश्लेषण अनुमति दिएमा हामी अनुसन्धान गर्ने तयारीमा छौँ।'

त्यो औषधी पनि गम्भीर बिरामीलाई नभइ सामान्य लक्षण रहेका बिरामीलाई खुवाउने बताइएको छ। अहिलेसम्म कुन औषधि कोरोनाभाइरसविरुद्ध सबैभन्दा उपयोगी देखिएको छ । एन्टी भाइरल उक्त औषधी कोभिड(१९ का बिरामीमा प्रयोग गर्न चीन, रुस र भारत लगायतका देशमा अनुमति दिइएको बताइएको छ। अहिले प्रयोगमा रहेको रेम्डेसिभिरको तुलनामा उक्त औषधी सस्तो पनि हुने डा. ज्ञवालीको भनाइ छ।

उक्त औषधी अहिले एक सयजनामा परीक्षण गर्ने अनुसन्धान परिषद्को योजना छ। त्यसको गम्भीर साइड इफेक्ट नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस