
काठमाडौं । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन । जमैका तलावाजबाट खेल्दै आउनु भएका उन समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल थिए ।
सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश दश वटा खेल खेलेका थिए । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन । बाँकी नौ वटा खेलमा भने उहाँले खेलैपिच्छे विकेट लिए । सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सकेनन । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिए ।
जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो । यद्दपी सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे ।
सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उहाँले चार ओभरमा २३ रन खर्चिएका थिए । सो खेल जमैकाले ५ विकेटले जित्यो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिएका थिए ।
। उक्त खेल राइडर्सले सात विकेटले जितेको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाए । तर सो खेलमा जमैका १४ रनले पराजित भयो ।
यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए । सो खेलमा जमैका पाँच विकेटले विजयी भयो । यस्तै पाँचौ खेलमा सन्दीपले दुई विकेट लिएका थिए । बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उहाँले ४ ओभरमा १६ रन दिए । सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो ।
यस्तै सेन्ट किट्स विरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए । सो खेलमा उहाँले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । उक्त खेलमा जमैका ३७ रनले विजयी भयो । सातौँ खेलमा सन्दीपले एक विकेट लिए । ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गर्दै २० रन दिए । सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो ।
यस्तै सेन्ट किट्स विरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाउनु भएन । उक्त खेल वर्षाका कारण रद्द भएको थिरयो । तर नवौँ खेलमा भने सन्दीपले एक विकेट लिन सफल भए । बार्बाडोस ट्राइडेन्स विरुद्धको सो खेलमा उहाँले चार ओभर बलिङ गदै २६ रन दिए । उक्त खेलमा जमैका सात विकेटले पराजित हुनपुग्यो । समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गरे । सेन्ट लुसिया विरुद्धको खेलमा उनले चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिएका थिए । तर उनको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो ।
सन्दीपको टोली जमैकाले अब मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । जमैकाले बलिङ लाइन सन्दीप माथि निर्भर रहने गरेको छ । उनले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिएका छैनन । सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएकाले ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।
यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन । पहिलो पटक सन् २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले सन् २०१९ मा सन्दीपलाई ७० हजार डलरमा अनुबन्ध गरेको थियो ।
सीपीएल सकिएपछि सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन । यस यामको आईपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभएर युएईमा हुँदैछ । सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नु हुनेछ । उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन ।
प्रतिक्रिया दिनुहोस