aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना परीक्षणको रिपोर्ट लिन पाटन अस्पताल सहज, अन्यमा भने एसएमएसको भर

  • रिता राउत
    रिता राउत
  • मंगलबार, २३ भदौ २०७७
कोरोना परीक्षणको रिपोर्ट लिन पाटन अस्पताल सहज, अन्यमा भने एसएमएसको भर

काठमाडौं । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको छ । आफूलाई कोरोना भाइरस भए नभएको थाहा पाउन पीसीआर परीक्षण नै एउटामात्र निर्विकल्प विधि मानिएको छ । विश्वमा जस्तै नेपालमा पनि यहि विधि अपनाएर कोभिड–१९ को परीक्षण भइरहेको छ  ।

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमित बढ्दै जाँदा पीसीआर परीक्षणको दायर बढाइएको छ । सामाजिक दूरी कायम गरेर अर्थात् निषेधाज्ञबीच अस्पताल पुग्न सबैलाई त्यति सहज छैन । कोरोना परीक्षण गरिरहेका अस्पतालहरूले प्रिन्ट, एसएमएस र वेब साइडको माध्यमबाट कोरोनाको रिपोर्ट उपलब्ध गराइरहेका छन् । कोभिड परीक्षण हुँदै आएको पाटन, वीर तथा केएमसीले पनि यही विधि अपनाएर कोरोना परीक्षणको रिपोर्ट उपलब्ध गराउँदै आएको छ । 

पाटन अस्पतालका प्राविधिक हेड प्रमोद ज्ञवालीले कोरोना परीक्षणको नमुना दिएर रिपोर्ट पर्खिरहेकाहरूलाई एसएमएस र वेब साइडमार्फत रिपोर्टबारे जानकारी दिइरहेको बताए । उनले भने, ‘पोजेटिभ र नेगेटिभ दुवै रिपोर्ट नमुना दिँदा टिपाएको मोबाइल नम्बरमा एसएमएस पठाउँछौँ ।’ त्यससँगै वेबसाइडबाट पनि जानकारी दिने गरेको छौँ ।’

वेबसाइडमा रिपोर्ट हेर्न शुरुमा हामीले स्वाब दिने व्यक्तिको मोबाइलमा एसएमएस गरेर आइडी र पासपोर्ट पठाउँछौँ । अनि अस्पतालको वेबसाइटमा रहेको कोभिड रिपोर्ट सम्बन्धी लिङ्कमा आइडी पासवर्ड हालेर पनि रिपोर्ट हेर्न सकिने व्यवस्था मिलाएका ज्ञवालीले बताए । सबै रिपोर्ट डिजिटल सिस्टममार्फत हुने भएकाले फाइल पल्टाउने झन्झट गर्नु नपर्ने ज्ञवालीले जानकारी दिए । 

उनले भने, ‘स्वाब संकलनपछि सबै सफ्टवेयरबाट काम हुन्छ, फर्म र स्याम्पलमा कोड इन्ट्री गरिन्छ । यसले हराउने र तलमाथि हुने सम्भावना कम हुन्छ ।’ परीक्षण रिपोर्ट वेवसाइडमा र मोबाइलमा पठाउँदा कर्मचारी र सर्वसाधारण दुबैलाई सहज भएको ज्ञवालीले बताए । उहाँहरूलाई रिपोर्ट लिन अस्पतालसम्म आउनु पर्दैन ।’

पाटन अस्पतालमा कोभिड परीक्षण गरेर घर फर्केका एक संक्रमितले मलाई कोभिड पोजेटिभ भएको रिपोर्ट एसएमएसका साथै अस्पतालको कोभिड रिपोर्ट सम्बन्धी लिङ्कमा हेरेर पत्ता लगाए । उहाँहरूले मलाई मेरो आइडीको पासवर्ड दिनु भएको थियो,’ उनले भने ‘रिपोर्ट लिन अस्पतालसम्म जानु परेन, रिपोर्टमा कुनै दुबिधा मान्य ठाउँ थिएन ।’ पाटन अस्पतालको आफ्नो रिपोर्ट आफैले राम्रोसँग हेर्न सकिन्छ ।’

                                                                                    पाटन अस्पतालमा गरिएको पीसीआर रिपोर्टको नमूना

त्यस्तै, केएमसीको ल्याबमा परीक्षण गराएको रिपोर्ट पनि स्वाब दिन आउँदा नै उपलब्ध गराएको नम्बरमा एसएमएस मार्फत जानकारी गराउने गरेको छ । केएमसीले रिपोर्ट मोबाइलमा एसएमएस गरेर पठाउने गरेको अस्पतालका डाक्टर मुकुन्दराज जोशीले बताए । उनले भने, ‘हामीले कोभिड परीक्षणको रिपोर्ट एसएमएस मार्फत दिने गरेका छौँ । कतिपयलाई प्रिन्ट गरेर पनि रिपोर्ट उपलब्ध गराएका छौँ ।’ नमुना दिने सम्बन्धित व्यक्तिले नमुना दिँदा आफ्नो सही विवरण, नाम, ठेगाना, उमेर र मोबाइल नम्बर दिन उनले अनुरोध पनि गरे ।

त्यसै गरी, वीर अस्पतालले अहिले प्रिन्ट र एसएमएस मार्फत कोरोना परीक्षण रिपोर्ट उपलब्ध गराउँदै आएको वीर अस्पतालका डाइरेक्टर केदार सेञ्चुरीले बताए । उनले भने, ‘पहिला हामीले नेगेटिभ रिपोर्ट आउनेलाई अस्पतालबाटै प्रिन्ट गरेर रिपोर्ट उपलब्ध गराउँथ्यौँ,’ उनले भने ‘पोजेटिभ आयो भने सम्पर्कमा रही रहनु होला भनेर एसएमएस गर्ने र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा पोजेटिभ आएको जानकारी गराउने गरेका थियौँ ।’ विभागले नै कन्ट्रयाक ट्रेसिङ गर्ने गरेको थियो ।’

सेञ्चुरीले भने, ‘तर, विभागले जानकारी गराउन ढिला गर्ने र यता बीमाको पनि समस्या हुने भएकोले अहिले एसएमएस र प्रिन्ट मार्फत अस्पतालले नै रिपोर्ट उपलब्ध गराउँदै आएका छ ।’ ‘केही दिन पछि वेबसाइडमार्फत पनि रिपोर्ट उपलब्ध गराउने तयारी गरिरहेका छौँ, चाडै नै वेवसाइड मार्फत पनि रिपोर्ट उपलब्ध गराउँछौँ ।’  

प्रतिक्रिया दिनुहोस