काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख गणना कार्य सकिएको छ । रुख गणना कार्य सकिएसँगै रुख तथा पोलको लगत नम्वरिङ गर्ने कार्य अघि बढाइएको छ । आउँदो मङ्सिर मसान्तभित्र रुख तथा पोलको लगत नम्वरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । रुख गणनासकिएसँगै उक्त क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा मन्त्री भट्टराईले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँचमार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल टिम्बर कर्पोरेशनलाई रुख कटानको काम अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित बस्ती स्थानान्तरणको कार्य व्यवस्थापन सहजीकरण समितिले गर्ने भएको छ । २ माघ २०७६ को निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार पार्न निर्देशन दिएको छ । १५ दिनभित्र उक्त प्रतिवेदन सहजीकरण समितिमा पेश गरि सक्नुपर्ने छ ।
बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी कार्य एक साताभित्र सक्न प्राधिकरणलाई निर्देशन दिएको छ ।
लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्रमा परियोजना प्रस्ताव अन्तिम निर्णय लिनेसमेत बैठकले निर्णय गरेको छ ।
४० वर्षअघि नै वैकल्पिक विमानस्थल आवश्यक
बारा जिल्लामा नयाँ विमानस्थल निर्माण गरेर देशको पर्यटकीय गतिविधिलाई अभिवृद्धि गर्ने उद्देश्य सहित दोस्रो अन्तर्राष्ट्रिय विमास्थल, निजगढमा बनाउने योजना सरकारले अघि सारेको हो ।
२०७१/०७२ मा आयोजनको शुरु गरी २०७८/७९ मा सम्मन्न गरिसक्ने लक्ष्यका अघि बढाइएको उक्त अयोजनको निर्माण लागत डेढ खर्ब अनुमान गरिएको थियो । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए ) सम्पन्न भएको छ । यो आयोजनामा एकातर्फ लगानी जुट्न सकेको छैन ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलमा एअर ट्राफिक चाप बढ्दै जाने तथ्यलाई ध्यानमा राखेर छैठौं योजना (आव २०३६/०३७) मा नै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना समेटेको थियो ।
२०५२/५३ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ छनोट भयो । त्यसबेला विभिन्न आठ स्थानको सम्भाव्यता अध्ययन गरेर निजगढ छानिएको थियो । यसको विस्तृत सम्भाव्यता अध्ययन २०६६/६७ मा कोरियाली कम्पनी ल्याण्डमार्क वल्र्डवाइडले सम्पन्न गर्याे ।
तत्कालीन समयमा बुट मोडल अर्थात् आफैले लगानी जुटाउने, आफैले बनाउने र लगानी नउठेसम्म आफैले चलाउने गरी उसलाई फिजिबिलिटी स्टडी गर्न दिइएको थियो ।
त्यसपछि २०७१ सालमा प्रस्तावित विमानस्थलको चार किल्ला तोक्ने र २०७५ मा वातावरणीय प्रभाव मूल्यांकनको काम भयो । अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम पनि सकिएको छैन ।
त्रिभुवन विमानस्थलभन्दा २२ गुणा ठूलो
एशिया कै उत्कृष्ट दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ त्रिभुवन विमानस्थल सबैभन्दा बढी क्षेत्रफलमा फैलिने छ । त्यति मात्रै होइन, सम्भवतः एसियाकै ठूलो र भव्य विमानस्थल बन्ने छ । निजगढमा बन्ने तयारीमा रहेको विमानस्थलको क्षेत्रफल ११ हजार ८ सय ७५ बिघाको हुनेछ । यसलाई रोपनीमा भन्दा १ लाख ५८ हजार ५६ रोपनी हुन आउँछ भने किलोमिटरमा भन्ने हो भने ८० दशमलब ४५ स्क्वायर किलोमिटरको हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कुल क्षेत्रफल जम्मा ३ दशमलब ८७ स्क्वायर किलोमिटर छ, जुन निजगढमा बनाउन तयारी गरिएको विमानस्थलभन्दा २२ गुण सानो हो ।
प्रतिक्रिया दिनुहोस