
काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारी र सार्वजनिक कार्यालयमा सातामा २ दिन बिदा दिने प्रस्ताव अघि सारेका छन् । कोभिड महामारीका कारण तत्काल विदेशी पर्यटक नआउने भएका कारण आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सातामा दुई दिन विदा दिने प्रस्ताव उनले सरकार समक्ष अघि सारेका हुन् ।
कोभिडका कारण विश्व बजारबाट पर्यटन आउन समय लाग्ने देखिएकोले पर्यटनलाई जीवन्त राख्ने योमात्रै विकल्प हो,’ उनले भने ‘शुक्रबार र शनिबार बिदा भयो भने कर्मचारीलाई २ दिन घुम्न जाने समय मिल्छ ।’
वर्षमा ५० लाख मानिसले आन्तरिक पर्यटनमा योगदान पुर्याउने सहयोग गर्न सके पर्यटन क्षेत्र सर्भाइभका लागि सहयोग पुग्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
आर्थिक पत्रकार समाज ‘सेजन’ ले आज बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने असोज १५ गतेदेखि आन्तरिक उडान शुरु गर्ने तयारी गरेको छु ।’ उडान खुला गर्न सीसीएमसीमा आफूले प्रस्ताव पठाएको उनले बताए ।
यसअघि भदौ १ गतेदेखि देखिनै आन्तरिक उडान खुला गर्ने निर्णय भए पनि खुला हुन सकेको थिएन । चाडपर्व नजिकिदै गएकोले यसलाई समेत सहयोग पुगोस् भनेर उडान शुरु गर्न लागिएको हो । ‘सामान्य समयमा दैनिक औसतमा ३ सय उडान हुने गरेकोमा अहिले २५ प्रतिशत मात्रै उडान शुरु गर्ने प्रस्ताव गरेको छु,’ मन्त्री भट्टराईले भने ।
दशैं र तिहार जस्ता चाडपर्व नजिकिएको र यसले यात्रुको चाप बढाउने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक हवाई उडान शुरु गर्ने तयारी गरिएको मन्त्री भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस