aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोभिड-१९ बाट आतंकित हुनुहुन्छ ? पढ्नुस् कोरोना जितेकाको अनुभव

  • रिता राउत
    रिता राउत
  • आइतबार, २८ भदौ २०७७
कोभिड-१९ बाट आतंकित हुनुहुन्छ ? पढ्नुस् कोरोना जितेकाको अनुभव

विश्व नै कोरोना भाइरसको त्रासमा आक्रान्त छ । तर, कोरोना जितेकाहरूको अनुभव सुन्ने हो भने यो त्यति डरलाग्दो रोग होइन । जति हामीले सोचेका छौँ ।  

त्यसो त कोरोना लाग्ने वित्तिकै मरिहालिन्छ की भन्ने डर पाल्न नपर्ने तथ्य संक्रमण मुक्त भएकाहरूको तथ्यांकले पनि देखाउँछ । नेपालकै सन्दर्भमा हेर्न हो भने पनि संक्रमित मध्ये ७०.६४ प्रतिशतले कोरोना जितेका छन् ।   

नेपालमा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । जसमध्ये ३७ हजार ५२४ जना निको भएर घर पनि फर्किसकेका छन् ।  

यसरी कोरोना जितेर नियमित काममा फर्किएका केही व्यक्तिको अनुभव यहाँ प्रस्तुत गरेका छौँः  

मृत्युको मुखमा पुगेर पनि फर्किएर आएः डा. ज्ञानेन्द्रमान सिंह काकी 
कोरोना भाइरसको संक्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रूपमा लिनु नहुने बताएका छन् । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई बेवास्ता गरिरहेको उनको भनाइ छ ।

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्व सावधानी अपनाउन ध्यान नदिएको उनले बताए । उनले भने, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर बेवास्ता गर्ने भूल गर्नु हुँदैन । रोग लागेर ठिक हुनुभन्दा रोग नै नलाग्नु उत्तम हो । ”  

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घ रोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ । आफू कोभिड विरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भए पनि संक्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले सुनाए । उनले भने, “सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोराउन चाहन्छु ।”

उनले भने, ‘कोरोना लागेर निको भएका व्यक्तिहरूलाई समाजले राक्षसी प्रवृत्तिले हेर्ने गरेका छन् । कोरोना भाइरसबाट कुनै पनि बेला जो पनि सङ्क्रमित हुन सक्छन् । योबाट कोही पनि अछुतो छैन । त्यसैले कसैलाई कोरोना लाग्यो भने संम्वेदनशिल हुनुस् तर राक्षसी व्यवहार नगर्नुस् ।’ एक पटक संक्रमण भएर निको भइसकेपछि त्यो व्यक्ति समाजको लागि ११० प्रतिशत खतरा मुक्त रहेको उनको भनाइ छ । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।” बरु संक्रमण नभएका व्यक्तिबाट सजक हुन कार्कीको अनुरोध छ । 
  
विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुट्टाएको डा कार्कीले बताए । नेपालमा स्रोत साधन नभए पनि मृत्युदर अरू देशभन्दा कम रहेको उनको भनाइ छ । कोरोना अरू भाइरसजस्तै पूर्णपुरमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरे । 

जब पोजेटिभ भएको सुने तब बिरामी भएको महसुस भयो: शिवहरी आचार्य 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी शिव हरी आचार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक प्रशासन शाखाको कामको लागि हरेक विभिन्न ठाउँमा जाँदा आफू सङ्क्रमित भएको बताउँछन् । 

आचार्य भन्छन्, ‘ मलाई कहाँबाट कसरी संक्रमण भयो भन्ने ठ्याक्कै यकिन नै भन्न सक्दिन । तर, आफू नियमित कामले कोलेनिका, मलेनिका, राष्ट्र बैंकदेखि विभिन्न बैंकतिर जाँदा संक्रमण सर्‍यो जस्तो लाग्छ ।’ उनी थप्छन्, ‘मैले कोरोना परीक्षण गराएको केहिसमय पछि मलाई फोन मार्फत तपाइ कोरोना पोजेटिभ हुनुभयो भनेर खबर सुनाए । यति सुन्नसाथ म डराएर अलिक अफ्ठेरो, टाउको दुखे जस्तो, जिउ दुखजस्तो भयो । जब की कोरोना पोजेटिभ भएको खबर पाउनु भन्दा पहिले म पुर्णरुपमा स्वस्थ्य रहेको महसुस गरेर काम गरिरहेको थिए ।’ 

सुरुमा कोरोना पोजेटिभको खबर सुनेपछि आफू आत्तिएको आचार्य बताउँछन् । उनी सुनाउँछन्, ‘कार्यालयमा काम गरिरहँदा आफू संक्रमिण भएको सुनेपछि  मलाई मेरो कार्यालयका अग्रज कर्मचारीले सम्झाएपछि केही हलुका भएको फिल भयो । 

हस्पिटलमाभन्दा मलाई होम आइसोलेसनमै बस्दा सहज होला भनेर म घरमै बसे । जब घर गएर परिवारमा आफू कोरोना पोजेटिभ भएको खबर सुनाए सबै जना भावनामा बग्नु भयो । त्यस बेला मलाई छुट्टै खालको नरमाइलो महसुस भयो ।’ 

आफू  १६ दिन होम आइसोलेसनमा छुट्टै बसेर बेसार पानी, अदुवा, गुर्जो लगायत घरेलु औषधी खाएर कोरोना जितेको उनी बताउँछन् । उनी भन्छन्, ‘१६ दिनमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि म यति धेरै खुसी भए, त्यो बयान गर्न सक्दिन । नेगेटिभ रिपोर्ट आए पनि म २१ दिनसम्म होम आइसोलेसनमै बसे । अहिले म नियमित काममा फर्केर काम गरिरहेको छु ।’ कोरोनालाई जित्न सबैभन्दा बढी आत्मविश्वास र पौष्टिक तत्त्वहरू खानुपर्ने उनको अनुभव छ । कोरोनादेखि नआत्तिऔँ आफू पनि सतर्क रहेर अरूलाई पनि सजक रहन उनको आग्रह छ । 

मैले भेदभावपूर्ण व्यवहार पाइन्ः उत्तर कुमार काफ्ले  
स्वास्थ्य सेवा विभागका सवारी चालक उत्तम कुमार काफ्ले आफू कोरोना सङ्क्रमित हुँदा अरूले जस्तो भेदभावपूर्ण व्यवहार भोग्नु नपरेको बताउँछन् ।  

उनी भन्छन्, ’मलाई कोरोना संक्रमण कसरी भयो भनेर बुझ्न कुनै गह्र्रो छैन । कामको सिलसिलामा म सबै कोरोना प्रभावित जोखिम जिल्लाहरूमा गइराख्नु पर्छ । यसैक्रमममा व्यक्तिगत सुरक्षामा कुनै असावधानी हुनाले मलाई कोरोना संक्रमण भयो ।’ काफ्लेले आफूलाई कोरोना संक्रमण भए पनि कुनै लक्षण भने नदेखिएको बताए । 

काफ्लेले भने, ‘मलाई कोरोना संक्रमण भएपछि मलाई कार्यालयका कर्मचारी लगायत परिवार साथीहरूको सकारात्मक सुझाव पाए । कोरोना लागेको धेरै मानिसहरूलाई साथीभाइ, समाजले धेरै नै हेला गर्ने गरेको पाइन्छ । तर, मेरो हकमा भने त्यस्तो भएन ।’

आफूले सहजै कोरोनामुक्त भएको सुनाउँदै भन्छन् संक्रमितलाई मनोबल गिराउने खालका कार्य गर्नाले बिरामीलाई थप मानसिक तनाव हुने गर्छ । यस्तो व्यवहार कसैले कसैसँग पनि नगर्न काफ्लेको अनुरोध छ । उनी भन्छन्, ‘आज तपाई सङ्क्रमित हुनुहुन्न भन्दैमा भोलि पनि सङ्क्रमित हुनुहुन्न भन्ने कुनै ग्यारेन्टी छैन ।’  

प्रतिक्रिया दिनुहोस