aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

नेपालको मोबाइल डेटा भारतको भन्दा १० गुणाले महँगो, मूल्य घटाउने तयारीमा सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
नेपालको मोबाइल डेटा भारतको भन्दा १० गुणाले महँगो, मूल्य घटाउने तयारीमा सरकार

काठमाडौं । छिमेकी मुलुक भारतकोभन्दा नेपाल प्रयोग हुने मोबाइल डेटा दश गुणा महँगो भएको एक सर्वेक्षणले देखाएको छ । केवल यूकेले विश्वव्यापी रुपमा गरेको तुलनात्मक सर्वेक्षणमा नेपाल र भारतको मोबाइल डेटामा करीब हजार प्रतिशत (९५५.५५ प्रतिशत)को मूल्य अन्तर देखिएको हो । छिमेकी मुलुक भारतले विश्वकै सस्तो मोबाइल डेटा प्रयोग गरिरहँदा नेपालले भने भारतको भन्दा करिब दश गुणाले बढी महँगो मोबाइल डेटा प्रयोग गरिरहेको छ । 

सर्वेक्षणले भारतमा एक जीबी डेटा प्याकेजको औषत मूल्य ०.०९ अमेरिकी डलर (१०.६६ रुपैयाँ) मात्र पर्छ । अझ त्यहाँको सबैभन्दा सस्तो ३० दिने प्याकेजमा प्रति जीबी ०.०२ अमेरिकी डलर (२.३५ रुपैयाँ) मात्र पर्न आउँछ । नेपालमा भने १ जीबी डेटाका लागि औषत रुपमा १०४.५३ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ ।

सर्वेक्षणमा विभिन्न भारतीय मोबाइल सेवाप्रदायकका ६० वटा डेटा प्याकेजलाई समावेश गरिएको थियो भने नेपाली मोबाइल सेवा प्रदायक कम्पनीका कुल ३४ वटा डेटा प्याकेज समेटिएको थियो । नेपालमा सबैभन्दा सस्तो प्याकेज डेटाको लागि प्रति जीबी ३१.९२ रुपैयाँ खर्च गर्नुपर्छ ।

विश्वमै सस्तो डेटा हुने मुलुकमा भारतपछि क्रमशः किर्गिस्तान, कजाखस्तान, युक्रेन, रुवान्डा र सुडान लगायतका मुलुक छन् । एक जीबी डेटाको औषत मूल्य कार्गिस्तानमा ०.२७ डलर, युक्रेनमा ०.५१ डलर, रुवान्डामा ०.५६ डलर र सुडानमा ०.६८ डलर रहेको छ ।

एसिया क्षेत्रमा नेपालको डेटा अन्य छिमेकी मुलुक चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, म्यानमार, भियतनाम, इन्डोनेसिया, मंगोलिया, इरान जस्ता देशहरूको भन्दा महँगो छ । सेन्ट हेलेना, फोकल्याण्ड, नौरु, बर्मुडा, मलावी जस्ता देशहरु विश्वकै महंँगो डेटा हुने मुलुकमा पर्दछन् । २२८ औं स्थानमा रहेको सेन्ट हेलेनामा विश्वकै सबैभन्दा महँगो डेटा भएको देश हो ।

प्रति जीबी डेटाको औषत मूल्य पाकिस्तानमा ०.६९ डलर, बंगलादेशमा ०.७० डलर, मंगोलियामा ०.७४ डलर, इरानमा ०.७५ डलर र म्यानमारमा ०.७८ डलर रहेको छ । त्यसैगरी इन्डोनेसियामा ०.६४ डलर, चीनमा ०.६१ डलर भियतनाममा ०.५७ डलर र श्रीलंकामा ०.५१ डलर पर्छ । 

यद्यपि २२८ मुलुक समेटिएको यो अध्ययनमा नेपाल ३१ औं सस्तो मुलुक हो । २३० देश समेटिएको दुई वर्ष अघिको सर्वेक्षणमा नेपाल ४५ औं स्थानमा रहेको थियो । दुई वर्ष अघि एक जीबी डेटाको औषत मूल्य २५६.५३ रुपैयाँ पर्ने नेपालले दुई वर्षको अवधिमा १४ स्थान सुधार गरेको हो ।

मोबाइलमा अलि बढी भएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । यसलाई घटाउन प्राधिकरण पहल गरिरहेको छ । आगामी दिनमा फोजीको विस्तार हुँदै जाँदा  डेटा पनि सस्तो हुँदै जाने प्राधिरकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

एनसेल र एनटीसीमात्रै छन् । अन्य कम्पनी कम्पनी थपिएपछि प्रतिस्पर्धा भएर सस्तो हुन्छ । डेटा प्रयोग कर्ता बढ्दै जाँदा पनि सस्तो हुँदै जाने अर्यालको भनाइ छ । ‘प्रविधि हो जति प्रयोग बढ्यो त्यसको गुणस्तर बढ्दै जान्छ भने मूूल्य घट्दै जान्छ,’ उनले भने ‘हामीले त्यहि अनुसारको पहल गरिरहेका छौं, यसमा सेवाप्रदायकहरूले पनि साथ दिनुपर्छ ।’ फिक्स्ड लाइन ब्रोडब्याण्ड इन्टरनेटमा सस्तो छ । फिक्स्ड लाइन ब्रोडब्याण्ड इन्टरनेटमा भने नेपाल विश्वकै १३ औं सस्तो मुलुकमा पर्छ । तर त्यसको स्पीडमा भने नेपाल निकै पछाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस