aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

महँगो छैन कोरोना संक्रमितलाई बरदान बनेको प्लाज्मा थेरापी

  • रिता राउत
    रिता राउत
  • सोमबार, २९ भदौ २०७७
महँगो छैन कोरोना संक्रमितलाई बरदान बनेको प्लाज्मा थेरापी

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वले तुरुन्तै छुटकारा पाउने लक्षण छैन। यो कोभिड-१९ को अहिलेसम्म औषधि पत्ता लाग्न सकेको छैन । यसको रोकथाम र नियन्त्रणका लागि विश्वव्यापी रूपमा अनेकन् प्रयास भइरहेका छन् । तर, कुनै पनि प्रयत्न प्रभावकारी रूपमा सफल हुन सकेको छैन ।

कतिपय देशमा कोरोना भाइरसबाट मुक्त भएकाहरूको प्लाज्मा कोरोना सङ्क्रमणले गम्भीर अवस्थामा पुराएका सङ्क्रमितलाई प्रयोग गरेर उपचार गर्ने गरिएको छ । प्लाज्मा थेरापीका रूपमा परिचित यो उपचार विधिमा सङ्क्रमणलाई जितेका मानिसहरूको रगतमा भएको प्लाज्मा सङ्क्रमणको कारण जटिल स्वास्थ्य अवस्थामा पुगेका बिरामीको शरीरमा हालिन्छ। कोरोना सङ्क्रमितको उपचारमा यो विधिको प्रयोग नेपालमा पनि गरिएको छ । कोरोनालाई पराजित गरिसकेका प्रतिरोधक कोषहरू भएको प्लाज्मा यसरी कोरोनासँग लडिरहेका बिरामीको शरीरमा प्रवेश गराउँदा यसबाट उनीहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास गरिएको छ ।

सङ्क्रामक रोग विशेषज्ञ तथा प्रोफेसर डा. जनक कोइरालाले नेपालमा पनि ३० वटा भन्दा बढी अस्पतालबाट प्लाज्मा थेरापी गरिरहेको बताए । उनले भने, ‘सरकारले अहिले देशभर ३० वटा भन्दा बढी अस्पतालबाट प्लाज्मा थेरापी गराइरहेको छ । अहिलेसम्म ६० जना भन्दा बढी निको भएर घर फर्किसकेका छन् ।’  

प्लाज्मा थेरापी गर्न कति महँगो छ भन्ने प्रश्नमा डा. कोइराला भन्छन्, ‘ब्लड ट्रान्सफर गरेजस्तै हो यो प्लाज्मा थेरापी गर्न पनि । यो खासै महँगो हुँदैन । बढीमा २ हजार २५ सयसम्म मात्र खर्च लाग्छ ।’  
 
के हो प्लाज्मा थेरापी ?
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)का डाइरेक्टर अर्जुन आचार्य भन्छन्, ‘प्लाज्मा भनेको रगतको अंश हो । रगतमा रहेका सेता, राता रक्त कोष, प्लेटलेस छुट्ट्याएर बाँकी रहेको चिप्लो तरल पदार्थमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । त्यसको प्रयोगबाट गरिने उपचार विधि नै प्लाज्मा थेरापी हो ।’  

उनले कोरोना सङ्क्रमण भएर नेगेटिभ रिपोर्ट आएको १४ दिनपछि मात्रै कुनै पनि व्यक्तिको रगतमा भएको प्लाज्मा निकाल्न मिल्ने बताए । उनी भन्छन्, ‘रक्तदान गर्न उपयुक्त व्यक्तिले नै प्लाज्मा दान गर्ने हो । १८ देखि ६० वर्ष उमेर र ५० किलोभन्दा बढी तौल भएको स्वस्थ व्यक्तिले तीन तीन महिनाको अन्तरमा रगत दान गर्न सक्छन् ।’ उनी थप्छन्, ‘कोरोना लागेर निको भएका जोसुकैले प्लाज्मा दिन मिल्छ तर, रक्त समूह मिल्नुपर्छ । रक्त समूह मिले मात्रै प्लाज्मा दिन मिल्छ ।’  

प्लाज्मा कसरी निकालिन्छ भन्ने प्रश्नमा आचार्यको जवाफ छ, ‘रक्तदान गरेपछिको रगतलाई प्रोसेसिङ गरी मेसिनको सहायतामा प्लाज्मा निकालिन्छ । एक व्यक्तिबाट अर्कामा दिँदा तुरुन्त झिक्नुपर्छ भन्ने हुँदैन पहिला नै पनि निकालेर राख्न सकिन्छ । यसलाई २० डिग्री तापक्रममा ६ महिना, ४० डिग्री तापक्रममा राखे १ वर्षसम्म प्रयोग गर्न सकिन्छ । ब्लड बैंकजस्तै प्लाज्मा बैंक हुन्छ । अहिले ब्लड बैंकहरूमै प्लाज्मा भण्डारण गर्ने गरिएको छ । प्लाज्मा बैंक बनाउँदा अन्य रोगको उपचारमा पनि सहज हुन्छ ।’  

प्लाज्मा झिकिएको व्यक्तिको शरीरमा एन्टीबडी नघट्ने बताउँदै उनी भन्छन्, ‘स्वस्थ व्यक्तिको शरीरमा ५/६ लिटर रगत हुन्छ, जसबाट ३ सय ३० मिल लिटर मात्रै रगत निकाल्ने हो । रगतमा ५५ प्रतिशत प्लाज्मा हुन्छ । एक पटकको रगत दानमा निकै कम प्लाज्मा निकालिन्छ । प्लाज्मा निकाल्न शरीरबाट रगत निकालेपछि ३० देखि ४५ मिनेटमा प्लाज्मा तयार हुन्छ ।’  विश्वमा यसलाई प्रभावकारी मानिए जस्तै नेपालको सन्दर्भमा पनि यसको नतिजा प्रभावकारी नै देखिएको आचार्यको भनाई छ ।  
 
जो प्लाज्मा थेरापीकै कारण मृत्युको मुखबाट फर्किए
विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की कुनै वाहाना नबनाई महामारीमा पनि कामबाट पछाडि नहटेकै कारण आफूलाई कोरोना संकमण भएको बताउँछन् । रुघा, खोकी र हल्का ज्वरो सुरु भएपछि उनले स्वाब दिएर क्वारेनटाइनमा बसेका थिए ।

क्वारेनटाइन बसेको ६ दिन पछि उनको पिसिआर पोजेटिभ आयो । उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगियो । स्वास्थ्य समस्या बढ्दै गएपछि उनलाई हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइयो । शिक्षण अस्पतालमा पनि उनको स्वास्थ्य झन् जटिल बन्दै गयो । भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरियो ।

डा. कार्कीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि अक्सिजन लिन सक्ने क्षमता समेत कम हुँदै गएको थियो । उनलाई  ९० प्रतिशत अक्सिजन दिनु परेको थियो । भेन्टिलेटरमा कोरोनासँग लडिरहेका कार्कीका लागि भगवान् साबित भए २६ वर्षीय युवक, जो कोरोना भाइरस सङ्क्रमित भएर निको भइसकेको थिए ।

ती युवकको प्लाज्मा लिएर चिकित्सकहरूले डा. कार्कीलाई दिए । कन्भलेसेन्ट प्लाज्मा थेरापी गरिएपछि तीन दिनमा डा. कार्की भेन्टिलेटरबाट वार्डमा फर्किए । वार्डमा फर्किएको केही दिनमै उनी कोरोना सङ्क्रमणमुक्त भए । अहिले उनी निको भएर नियमित काममा फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस