aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

यतीले ल्यायो घुम्ने सस्तो प्याकेज (मूल्य सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ असोज २०७७
यतीले ल्यायो घुम्ने सस्तो प्याकेज (मूल्य सहित)

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ ।

कम्पनीले स्थापनाको २२ औँ वार्षिकोत्सवका अवसरमा सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाईसमेत मध्यनजर गर्दै आन्तरिक पर्यटनका प्याकेज बनाएको हो । कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई जीवन्त तुल्याउन कम्पनीले देशका विभिन्न गन्तव्यमा आकर्षक प्याकेज ल्याएको छ । कोभिडले छ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाई आर्थिक गतिविधि बढाउन प्याकेज ल्याइएको कम्पनीले उल्लेख गरेको छ ।

यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताए । उनले लामो प्रतिवन्धपछि खुला भएको हवाई तथा पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै पर्यटन उद्योगलाई पुनस्थापित गर्न ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका साथ कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ्गलगायत कम्पनीसँगको सहकार्यमा प्याकेज बनाइएको जनाएको छ ।  एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ‘अब एयरलाइन्सले यात्रुलाई गन्तव्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन्’ भन्ने सन्देश आम यात्रुवर्गलाई दिन भ्रमण प्याकेज बनाइएको हो । 
यस्ता छन् यतीका पर्यटकीय प्याकेज 

एभरेष्ट ट्रेल  १३ हजार ९९९ रुपैयाँ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम १० यात्रु), रारा  २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन, न्यूनतम पाँच यात्रु ), पोखरा  पाँच हजार ९९९  रुपैयाँ प्रतिव्यक्ति (दुई रात, तीन दिन), चितवन  १२ हजार ९९९ रुपैयाँ र १६ हजार ९९९ रुपैयाँ प्रतिव्यक्ति (दुई रात, तीन दिन), मुक्तिनाथ दर्शन  १२ हजार ९९९ रुपैयाँ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छ यात्रु) रहेको छ । 

त्यस्तै, मुक्तिनाथ दर्शन  १६ हजार ९९९रुपैयाँ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम सात यात्रु), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक  ११ हजार ९९९ रुपैयाँ प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल  १९ हजार ९९९ रुपैयाँ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम आठ यात्रु) रहेको छ ।

टिकट काट्नलाई टिकट  एप्सबाट यती एयरलाइन्सका ग्राहकले टिकट आफ्नै मोबाइल फोनबाट काट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सोही प्रयोजनका लागि कम्पनीले मोबाइल एप सार्वजनिक गरेको छ । अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ । 

प्रतिक्रिया दिनुहोस