aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गरिने

काठमाडौं । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को आज बसेको बैठकले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले उक्त निर्णय गरेको बताए ।  डा. गौतमले नेपालमा हालसम्म १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेको पनि जानकारी दिए ।  उनले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने कार्यालय एक महिना नखोल्ने निर्णय भएको जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना संक्रमित पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। भने मृतकको संख्या ४३६ पुगेको छ । पछिल्लो २४ घण्टामा आज १८९३ जना निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस