aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुष, तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुष र नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुष रहेका छन् । 

डडेल्धुराका पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पु¥याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो ।

त्यस्तै, तनहुँका पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो ।

त्यसैगरि, नवलपरासी पश्चिम र कपिलवस्तुका संक्रमित दुबैजनाको बुटवलको कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए । गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमका पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । भने असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको थिए । 

प्रतिक्रिया दिनुहोस