aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अब एडिएसल सेवा एफटीटीएचमा परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
अब एडिएसल सेवा एफटीटीएचमा परिवर्तन

काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट सेवा एडिएसएल सेवा अब फाइबर टु द होम(एफटीटीएच)मा परिवर्तन गर्न लागेको छ । विहीबार टेलिकमले पत्रकार सम्मेलनमा गर्दै दूरसञ्चारको क्षेत्रमा टेलिकमले गरेका कामको जानकारी दिने क्रममा उक्त जानकारी दिइएको हो ।

 कार्यक्रमा योजनाको जानकारी गराउँदै टेलिकमकी प्रवक्त प्रतिभा वैद्यले १ वर्षदेखि निरन्तर एडिएसएल सेवा लिएका वा ३ महिनाको लागि एफटीटीएस सेवा लिने ग्राहलाई सीपीई( इन्टरनेट जडानमा आवश्यक पर्ने उपकरण) निशुल्क गरिएको जानकारी गराएकी थिइन । त्यस्तै देशभर एफटीटीएस सेवालाई देशैभरी विस्तार गरिने जानकारी गराइएको थियो । 

इन्टरनेटको साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको छ । हाल देशभर ४० हजार ९६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको छ । 

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताएका थिए  । आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा परिवर्तन ल्याउनका लागि कम्पनीले भूमिका खेल्ने बताउदै छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको जानकारी दिए । 

त्यस्तैगरि, देशभर सातै प्रदेशमा सेवा गत माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको समेत जानकारी दिइएको छ । यस मध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्ने टेलिकमले बताएको छ ।  

मोबाइल सेवा विस्तार प्रगति 
चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ सय वटा थ्रीजी बीटीएसहरुको स्तरोन्नति गरिएको बताएको छ । त्यसैगरी सो अवधिमा ४ सय ७ वटा बीटीएस थप गरिएको छ । एक करोड लाइन मोबाइल आयोजना अन्तर्गत ग्राहकको माग एवम् प्राविधिक अध्ययन अनुसार आवश्यक देखिएका स्थानहरुमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको छ । सो आयोजना अन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य टेलिकमले राखेको छ । 

मोबाइल गुणस्तर अभिवृद्धि
नेपाल दूरसञ्चार प्राधिकरणले गत पौष र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो पाइएको दावी गरेको छ । 

त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौमा गरेको मोबाइल सेवाको गुणस्तर परिक्षणको अध्ययन प्रतिवेदन अनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो पाइएको टेलिकमको भनाइ रहेको छ । 

मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर
मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउनका लागि गत मार्च १२ देखि २२ सम्म प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर र प्रदेश ३ को ५५५ किलोमिटरको लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस