aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२५ देशको बाईक यात्रामा निस्किए महिला, ‘बाईकिङ क्विन्स’लाई काठमाडौंमा स्वागत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
२५ देशको बाईक यात्रामा निस्किए महिला, ‘बाईकिङ क्विन्स’लाई काठमाडौंमा स्वागत

काठमाडौं, २४ जेठ । २५ देशको यात्रामा निस्किएका ‘बाईकिङ क्विन्स’ को नामले चिनिने तीन भारतीय महिला बाईकर्सहरुलाई आज काठमाडौंमा स्वागत तथा सम्मान गरिएको छ । ‘वुमेन्स प्राईड’ नामक सन्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् । 

उक्त ग्रुपकी संस्थापक डा। सारिका मेहता र उनका साथीहरु बाईक राईडर्सद्धय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् । बुधबार भारतबाट सुरु भएको उक्त यात्रा लण्डमा पुगेर समापन हुनेपनि उनीहरुले जानकारी दिए । 

उक्त यात्राको समापन भने आगामी अगष्टको २६ तारिखमा हुनेछ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उनीहरुको स्वागत तथा सम्मानमा देव भूमिको प्रायोजनमा वातावरण जिउने आधार र कर्मशिल समाज नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उनीहरुलाई साहसिक यात्राको लागि शुभकामना दिए । 

मन्त्री विश्वकर्माले भने,‘म तपाईहरुलाई नेपालमा स्वागत गर्न चाहन्छु, तपाईहरुको यो साहसिक यात्राको लागि पनि हार्दिक शुभकामना दिन चाहन्छु । तपाईहरु महिला सशक्तिकरणको लागि महत्वपूर्ण सन्देश बोकेर यो साहसिक यात्रामा अघि बढ्नुभएको छ । यो पूरा विश्वको लागि नै गर्वको विषय हो ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् सांसद पुष्पा भुषाल, हिसानका अध्यक्ष रमेश सिलवाल, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, पत्रकारहरु हरिहर विरही, कविर राणा, दामोदर दवाडी र गंगादेवी थपलियाले उनीहरुलाई साहसिक यात्राको सफलताको लागि शुभकामना प्रदान गरेका थिए ।  

कार्यक्रममा उक्त साहसिक यात्राको नेतृत्व गरेकी डा। मेहताले आफूहरुले पूरा यात्राको दौरान महिला सशक्तिकरणको सन्देश फैलाउने विश्वास गरिन् । उनीहरु हिजोमात्रै नेपाल आईपुगेका हुन् । उनले भनिन्,‘यदि हामी सक्छौं भने तपाई पनि सक्नुहुन्छ ।’

उनीहरु तीनै जनाले अब म्यानमारको यात्रा गर्नेछन् । त्यसपछि थाईल्याण्ड, लाओस, चीन, किजकिस्तान, उजवेकस्तान, काजाखस्तान, रसिया, लाटभिया, लिथुनिया, बेलारुस, पोल्याण्ड, जर्मनी, अष्ट्रिया, फ्रान्स, मोरोक्को र अन्य देशहरुको यात्रा गर्ने कार्यक्रम छ । उनीहरुले प्रत्येक दिन ५ सय किलोमिटरको यात्रा गर्नेछन् । 

मेहताले आफूहरु यात्राको दौरान आईपर्ने जस्तोसुकै चूनौतिहरुको पनि सामना गर्न तयार रहेको सुनाईन् । उनले भनिन्,‘हामी सुरक्षित रुपमा फर्कने विश्वासका साथ अघि बढेका छौं ।’ आफूहरुले यो यात्राको लागि एक वर्षदेखि तयारी गरेको पनि उनले जनाईन् । 

उनीहरुले भारत सरकारको ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानको पनि सन्देश विश्वभरि फैलाउने उद्देश्यसहित यो साहसिक यात्रा गर्नेछन् । डा। मेहताकाअनुसार उनीहरुले सन् २०१६ मा पनि विभिन्न दश देशको भ्रमण गरिसकेका छन् । त्यतिवेला उनीहरुले भारतबाट यात्रा सुरु गरेर श्रीलंकामा पुगी समापन गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस