
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने मन्त्रालयको निर्णय छ ।
स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड डायगनोस्टिकले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका छन् । तर सरकारले भदौ २८ बाट आरटी पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको थियो ।
ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले बढी शुल्क दिने ल्याबहरुलाई सचेत गराउन र २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
'गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमले ती सबै ल्याबलाई एक पटकलाई चेतावनी दिने निर्णय गरेको छ', गौतमले भने, '२४ घण्टाभित्र तोकिएको भन्दा बढी शुल्क लिने निर्णय नसच्याएमा प्रयोगशाला स्वीकृति खारेज गरिनेछ।'
सरकारले पिसिआर परीक्षणका लागि भदौ २८ देखि सबै शुल्कसहित २ हजार रुपैयाँ तोकेको थियो। '२४ घण्टाभित्र शुल्क समायोजन नगरेमा ल्याबको स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई भनिएको छ,' गौतमले भने 'बढी शुल्क लिने प्रयोगशालालाई कालोबजारी गरेको आरोपमा कारवाही गर्न गृहमन्त्रालय र वाणिज्य विभागलाई पनि आग्रह गरिएको छ।'
प्रतिक्रिया दिनुहोस