काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयका अनुसार बिहीबारसम्म कोरोना भाइरसका कारण ५ सय ९ जनाको मृत्यु भएको छ। नेपालमा कुल संक्रमितमध्येमा ०.६५ प्रतिशत मृत्यु भएको छ।
बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना पुरुष छन्। थपसहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन्। संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन्। त्यसमा काठमाडौंमा जिल्लामा मात्र ८ सय १७ जना छन्। उपत्यकाबाहिरका मुख्य सहरहरुमा पनि फैलिने क्रम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुर्खेत, मोरङ, नवलपरासी, चितवनलगायतका जिल्लामा संक्रमण दर बढ्दो छ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ। तीमध्येमा ११ हजार ६९ जना होम आइसोलेसन र १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेसनमा छन्। जटिल समस्या भएका २ सय जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
दैनिक कोरोना संक्रमण र मृत्युदरमा वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम स्थानका हरेक नागरिकले पूर्ण सुरक्षा मापदण्ड पालना गरी आफू र घरमा रहेका दीर्घरोगी, वृद्ध–वृद्धालाई संक्रमणबाट बचाउन अनुरोध गरेको छ। पछिल्लो चरणमा बढी मात्रामा संक्रमण हुनेमा समूहमा बस्ने, समूहमा काम गर्ने, बैंक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दैनिक तरकारी बजारमा आवात–जावात गर्नेहरू रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘यी ठाउँमा काम गर्नेले सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नुहोला,’ उनले भने।
पैसाबाट कोरोना सर्छ
कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकोले पैसा चलाएपछि साबुनपानीले हात धुने या राम्रोसित सेनिटाइजरको प्रयोग गर्न सुझाएकी छिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल विश्वभरि चलिरहेको कोरोना महामारीको चपेटामा बढी मात्रामा वृद्ध जनसंख्या परेको हुनाले उनीहरुलाई संक्रमणबाट जोगाउन परिवार तथा आश्रमले सुरक्षाका मापदण्ड पालना हुनेगरी व्यवस्था मिलाउन अनुरोध गरेको छ। बिहीबार विश्व ‘ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले यस्तो अनुरोध गरेको हो। नियमित पे्रस ब्रिफिङमा बोल्दै पहिलो ज्येष्ठ नागरिक विशेषज्ञ डा। रमेश कँडेलले यस्तो अनुरोध गरेका हुन्। ‘विभिन्न केन्द्रमा रहेका ज्येष्ठ नागरिकमा कोरोनाबाट बचाउन छुट्टै विशेष सुरक्षा मापदण्ड हुनुपर्छ,’ उनले भने।
घर तथा केन्द्रहरुमा रहेका जेष्ठ नागरिकलाई महामारीबाट जोगाउन युवाहरूले सामाजिक दूरी कायम राख्ने, ज्येष्ठ नागरिकलाई भेट्दा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम राख्नेलगायत नियम पालना गर्न अनुरोध गरेका छन्। अहिले लकडाउन खुकुलोभएपछि मापदण्ड पालनामा हेलचेक्र्याइँ बढेकोमा सचेत हुन पनि डा. कँडेलले आग्रह गरे। तथ्यांकअनुसार नेपालमा कुल जनसंख्यामा ८.१३ प्रतिशत ज्येष्ठ नागरिकको जनसंख्या छ।
प्रतिक्रिया दिनुहोस