aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

‘दशैँमा घर जाँदा कोरोना कोसेली त लगिरहनुभएको छैन ? ख्याल गरौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
‘दशैँमा घर जाँदा कोरोना कोसेली त लगिरहनुभएको छैन ? ख्याल गरौँ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले दशैँ घर जाँदा वा पर्व मनाउँदा विशेष ख्याल गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कतै तपाइले दशैँमा घर जाँदा कोरोना त कोसेली लगिरहनु भएको छैन भन्दै घर जाँदा ख्याल गर्न आग्रह गरेका हुन् ।  

उनले भने, ‘कोरोना भाइरस आफै आउँदै, कोरोना अरुबाट सर्छ, हामी आफै लिन जानुपर्छ वा कसैले आफूलाई कोसेलीको रुपमा ल्याइदिन्छ । त्यसकारण ख्याल गरौँ ।’ उनले थपे, ‘एक पटक सोचौँ कतै हामीले कोरोना त बोकेर गइरहेका छैनौँ ?’ 

दशैँमा मान्यजनबाट टीका थाप्ने चलन रहेको र ज्येष्ठ नागरिकबाट टीका थाप्दा उहाँहरुलाई कोरोना सार्ने जोखिम हुने भन्दै यो वर्ष ख्याल गर्न आग्रह गरेको हो । गौतमले सङ्क्रमण भएका ठाउँबाट गाउँघरमा जाँदा कोरोना भाइरस पनि सँगै लगिने खतरा रहेकोले यो वर्ष टीका थाप्नकै लागि सकेसम्म यात्रा नगर्न आग्रह गरेका छन् । 

प्रवक्ता गौतमले दशैँ पर्व अर्को वर्ष पनि आउने भन्दै हामीले हाम्रा हजुरबुबा, हजुरआमा तथा बुबा–आमालाई कोरोना लगिदियौँ भने यसले उहाँहरुको ज्यानसमेत जान सक्ने बताए । ज्येष्ठ नागरिकहरु कोरोना सङ्क्रमण तथा सङ्क्रमण भएपछि जटिल अवस्थामा पुग्ने खतरा धेरै रहेकोले सकेसम्म उहाँहरुको छेउमा नजान आग्रह गरेका छन् । 

ज्येष्ठ नागरिकको हेरचाह गर्ने व्यक्ति पनि सधैँ सचेत रहन भन्दै उहाँले दशैँका टीका थाप्ने प्रयोजनका लागि मात्र यात्रा नगर्न र घरबाहिर गइरहने व्यक्तिले ६० वर्षमाथिका ज्येष्ठ नागरिकबाट टीका नथाप्न पनि आग्रह गरे । 

त्यस्तै,सरकारले कोरोना भाइरसविरुद्धको खोप आयातसम्बन्धी कसैसँग सम्झौता नगरेको  गौतमले स्पष्ट पारेको छ । एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबरप्रति इङ्गित गर्दै उनले विश्वमा अहिलेसम्म खोप नै नबनेकोले यसबारेमा सम्झौता नभएको बताए । 

प्रतिक्रिया दिनुहोस