
एजेन्सी । अमेरिकामा राष्ट्रपति पदको चुनाव हुन केही साता मात्र बाँकी छँदा डोनल्ड ट्रम्पमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । यसले अब के हुन्छ भन्दै थुप्रै प्रश्नहरू तेर्स्याएको छ । राष्ट्रपतिले कुन चुनावी अभियान छुटाउन सक्छन ? अक्टोबर १ मा कोरोनाभाइरस देखिएको दिनदेखि १० दिनसम्म ट्रम्प एकान्तबासमा बस्नुपर्नेछ ।
त्यसैकारण अक्टोबर १५ मा तय गरिएको दोस्रो राष्ट्रपतीय बहसमा उनी सहभागी हुन सक्ने सम्भावना अझै जीवितै छ । शुक्रवारका लागि फ्लोरिडामा तय गरिएको एउटा ¥याली रद्द गरिएको छ । उनले जोखिमयुक्त उमेर समूहका बरिष्ठ व्यक्तिहरूसँगको एउटा भिडिओ संवाद समेत रद्द गरे । यसबीचमा ट्रम्पका लागि तय गरिएका अन्य ¥यालीहरू समेत अहिलेलाई कि रद्द हुनेछन् या त पर सारिनेछन् ।
कस्तो अवस्थामा चुनाव सर्न सक्छ ?
ट्रम्पको एकान्तवासको समयले चुनावी अभियानमा उनको क्षमतामा असर पार्नेछ ।त्यसैले चुनाव सार्ने विकल्प र त्यसको प्रक्रियाका कुरा समेत चल्न थालेका छन्। कानुनतः अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्येक चार वर्षमा नोभेम्बरको पहिलो सोमवारपछि आउने मङ्गलवार हुनेगर्छ ।
त्यसरी नै यसको मिति यो वर्षको ३ नोभेम्बरलाई तय गरिएको हो । तर चुनाव सार्ने कुरा राष्ट्रपतिको बसमा नभइ सांसद्हरूमा निर्भर छ । त्यसको लागि अमेरिकी संसद्को दुवै सदनमा बहुमत आवश्यक पर्छ । डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनको अवस्थाले गर्दा त्यस्तो सम्भावना न्यून देखिन्छ । मिति परिवर्तन नै भएछ भने पनि राष्ट्रपतिको कार्यकाल चार वर्षमा सिमित रहन्छ । जसले गर्दा २० ज्यानुअरी, २०२१ को मध्यान्नमा ट्रम्पको कार्यकाल स्वभाविक रूपमा सकिन्छ ।
राष्ट्रपति ट्रम्प काम गर्न नसक्ने भएमा के हुन्छ ?
हाललाई बताइए अनुसार ट्रम्पले ’सामान्य लक्षण’हरू अनुभव गरिरहेका छन् । तर काम नै गर्न नसक्नेगरी उनी बिरामी परिरहे भने संविधानमा केही व्यवस्थाहरू छन्। २५औँ संशोधनले राष्ट्रपतिलाई उपराष्ट्रपतिसमक्ष शक्ति हस्तान्तरणको बाटो खोलेको छ। जसको अर्थ माइक पेन्स कार्यवाहक राष्ट्रपति हुनेछन् ।
ट्रम्प निको भएपछि पुनः काममा फर्कन सक्नेछन् । यदि राष्ट्रपति निकै नै अस्वस्थ भएर शक्ति हस्तान्तरण गर्न सकेनन् भने मन्त्रिपरिषद् र उपराष्ट्रपतिले उनी काम जारी राख्न नसक्ने घोषणा गर्न सक्नेछन् । र राष्ट्रपतिको भूमिका पेन्समाथि हुनेछ । यदि माइक पेन्स पनि काम गर्न नसक्ने अवस्थामा पुगे भने राष्ट्रपतिलाई विस्थापित गर्ने एउटा कानुन अनुसार त्यो भूमिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीसम्म पुग्नेछ ।
पेलोसी डेमोक्र्याट नेता भएकाले त्यस्तो अवस्था आएमा कानुनी असहजताहरू निम्तिन सक्ने संविधानविद्हरूको भनाइ छ । यदि सभामुखले समेत काम गर्न नसकेमा राष्ट्रपति पद बरिष्ठ रिपब्लिकन सांसद्सम्म पुग्नेछ। जो यतिखेर ८७ वर्षीय चाल्स इ ग्रास्ले छन्।
यो अवस्थामा समेत कानुनी जटिलताहरू हुन सक्छन् । के विगतमा राष्ट्रपतिहरू भूमिका छाडेर बसेका छन ? सन् १९८५ मा राष्ट्रपति रोनल्ड रेगन क्यान्सर शल्यक्रियाका लागि अस्पतालमा भर्ना हुँदा उपराष्ट्रपति जर्ज एचडब्लु बुसलाई जिम्मेवारी दिएका थिए ।
सन् २००२ र २००७ मा राष्ट्रपति जर्ज डब्लु बुसले आफ्ना उपराष्ट्रपतिलाई त्यसैगरी जिम्मेवारी सुम्पेका थिए । जतिखेर बुस कोलोनोस्कोपी भनिने ठूलो आन्द्राको अवस्था बुझ्ने एउटा नियमित जाँचहरूमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस