aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

विदेशमा रहेका ३५ हजार ९ सय संक्रमित नेपाली कोरोनामुक्त, २६६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
विदेशमा रहेका ३५ हजार ९ सय संक्रमित नेपाली कोरोनामुक्त, २६६ जनाको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ (कोरोना) संक्रमणबाट  विदेशमा विभिन्‍न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोनामुक्त भएका हुन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २६६ जना नेपालीको मृत्यु भएको छ ।

समिति संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५२८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ जना कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्बजनिक  स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ । समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्‍ने एकमात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा  सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस