aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
पर्यटकीय गन्तव्य

नजिकको गन्तव्य जहाँ तपाईंले पाउनु हुने छ प्राकृतिक छटामा कुँदिएको अनुपम नमूना

  • मेनुका कार्की
    मेनुका कार्की
  • आइतबार, १८ असोज २०७७
नजिकको गन्तव्य जहाँ तपाईंले पाउनु हुने छ प्राकृतिक छटामा कुँदिएको अनुपम नमूना

चन्द्रागिरी । घनाजंगलको चुचुरोमा देवादीदेव महादेवको प्यागोडा शैलीमा बनेको भालेश्वर मन्दिर । मन्दिरको वरिपरि ढुंगा छापिएको फराकिलो रमणीय स्थल अनि आकर्षक अन्य भौतिक संरचना । पश्चिममा धादिङ, मकवानपुर र काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्ने भ्यू–टावर । टावरको दक्षिण पट्टी रहेको विभिन्न आधुनिक खेलौनाले सजिएको बाल उद्यान । उत्तर–पूर्वी दिशामा बनाइएको नेपाल एकीकरणका मूलपात्र वडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिक । दक्षिण अर्को थुम्कोमा हेर्दै गएर बसौं बसौं लाग्ने चन्द्रागिरी हिल्स रिसोर्ट । 

चाइनिज इँटाबाट बनेका ठूला चार भव्य भवन अनि अन्य साना ब्लकहरू । ती भवन र टायल विच्छाएको भवनका छानाहरू भालेश्वरबाट हेर्दा जति मनमोहक देखिन्छ, त्यति नै आनन्द रिसोर्टमा पस्दा आउँछ । स्वीमिङ पूलमा तैरिरहेका युगल जोडी र त्यसैको दाँयापट्टी बन्दै गरेको हेलिप्याड । 

रिसोर्ट मै बसेर देख्न सकिने केबलकारका डब्बा (गोन्डालो), पूर्वपट्टी हेर्दा देखिने पुरै गुचुमुच्च सिमेन्टेड खम्बाले भरिएको काठमाडौं उपत्यका । दक्षिणमा देखिने चम्पादेवी डाँडो अनि फाटफूट्ट देखिने चहखेलका घरहरू र हरियो धानखेतको साँघुरो फाट । पूर्वी–उत्तर दिशामा देखिने सेतै दातको लहरजस्तै चाँदी झै टल्किएका गगनचुम्बी हिमालहरू र त्यसको तल शिवपुरी श्रृखला । जंगलको बीचमा थरिथरिका रंगिविरंगी चराचुरुङ्गीको आवाज । छिनछिन आउने कुहिरो र घाम अनि शितल हावा । साँच्चै भन्ने हो भने स्वर्गको एक टुक्रा धर्तीमा झरेजस्तै  चन्द्रको चन्द्रागिरी रिसोर्ट । 

सहरी भिडभाडदेखि एक घण्टा/४५ मिनेटको यात्रामै पुग्न सकिने चन्द्रागिरी केबलकार अनि १० मिनेटमा कार चढेर पुगिने भालेश्वर मन्दिर र भालेश्वर मन्दिरको करिब डेढ किलोमिटरको दुरीमा रहेको हरियो मनमोहक जंगलको बीचमा रातो छानाको रिसोर्ट । भालेश्वरको बाल उद्यानबाट नागबेली बाटोमा घोडा सवारबाट पनि पुग्न चन्द्रागिरी रिसोर्ट । 

बुटिक रिसोर्टको कन्सेप्टमा तयार पारिएको चन्द्रागिरी रिसोर्ट नेपालको मौलिककताको धरोधर नै मान्दा पनि फरक पर्दैन । प्रकृतिको छटामा कुँदिएको सुन्दरतालाई लिच्छवी कालीन काष्ठकलाको अनुपम नमूनाले रिसोर्टमा थप सुन्दरता थपेको छ । भर्याङ झ्याल, ढोका रेलिङ समेत उड कार्भिङले सजिएका छन् । 

व्यवसायिक कामको सिलसिलामा विभिन्न देश घुम्दा पर्यटकीय स्थलहरू हेर्ने मौका पाएका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ती देशहरूमा केबलकारसहितका पर्यटकीय पूर्वाधार हेर्ने मौका पाए । र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणलाई पनि देखे । प्रकृतिले भरिपूर्ण नेपालमा जहाँ तहि यस्ता पर्यटकी गन्तव्य पूर्वाधार निर्माण गर्ने सम्भावना देख्दा देख्दै पनि नजिकको गन्तव्यलाई उनले रोजे ।  

उपत्यका नजिकै यस्तै पूर्वाधार निर्माण स्थानको खोजी गर्दै गर्दा उपत्यका कै अग्लो शिखर चन्द्रागिरी ढकालको रोजाइमा पर्यो । उपत्यकाका करीब ५० लाख मानिसका लागि छुट्टी मनाउन निस्किने ठाउँको अभाव थियो । र विदेशी पर्यटकको लागि पनि यो मुख्य गन्तव्य बन्न सक्छ भन्ने सोचका सात केबलकार र रिसार्ट, प्यारागाइडिङको अवधारणा अघि बढ्यो । अहिले प्यारागाइडिङ भने बनिसकेको छैन । 

उपत्यकाको छोटो यात्राबाटै रिसोर्ट पुग्न सकिने भएकाले पनि विदेशी पर्यटकको मात्र नभइ नेपालीको रोजाइमा चन्द्रागिरी रिसोर्ट पर्ने विश्वास व्यवस्थापकको छ । राजधानीको नजिकै भएकाले पनि शुक्रबारको छुट्टी मनाउन रिसोर्टमा जान सकिन्छ । एक/दुई दिन बस्न गाह्रो पर्दैन । यहाँको रमाइलो वातावरणले दिन गएको पत्तै भएन, रिसोर्टमा गत आइतबार बसेका एक युगल जोडीले भने ‘हामीले बिहानै रुम छाडेपनि अहिलेसम्म यहाँबाट निष्कनै मन लागेको छैन ।’ पौडी खेल्दै उपत्यका हेर्दा दिन बितेको थाहै पाइएन ।’

साँझमा देखिन झिलिमिली काठमाडौं उपत्यका अनि बिहानको सूर्योदय र सूर्याअस्ता हेर्न पनि यो ठाउँ पर्यटकको रोजाइमा परेको छ । रिसोर्टको भुईतलामा रहेको डायनिङ हलबाट विभिन्न परिकारका स्वदेशी तथा विदेशी खानाको स्वादसँग काठमाडौंको सुन्दरतालाई नियाल्नुको मज्जा नै अर्कौ । रिसोर्टका जनरल म्यानेजर अविषेक विक्रम शाह भन्छन् ‘लोकेसनका हिसावले रिसोर्ट एकदमै उपयुक्त स्थानमा छ ।’ 

चन्द्रागिरी हिल्स रिसोर्टको आफ्नै मौलिकता छ । यहाँ छिर्ने बित्तिकै अतिथिहरूले  अन्य ठाउँमा छिरेको महसुस नगरी नेपालमा छिरेको महसुस गरुन् भन्ने चाहना साथ रिसोर्टको पूर्वाधार निर्माण गरिएको छ । बुटिक रिसोर्ट अवधारणा अनुसार गरिएको उड कार्भिङ र नेपाली मौलिकता झल्कने गाउँ सहर टाँगिएको फोटा तथा आर्टहरू तथा भुइमा बिच्छाइएको तेल्या इँटा । काष्ठकलाको अनुपम नमूनाले रिसोर्ट  सजिएको छ । रिसोर्टको खुला भागमा चाइनिज तेल्या इँटा (चारपाटे इँटा)  ले स्वायर आकारमा मण्डला जस्तै देखिन्छ । 

‘रिसोर्टको ग्रान्ड ओपनिङ नै गर्न नपाइ कोभिड शुरु भयो । बल्ल असोज १ बाट खुलेको हो,’ रिसोर्ट व्यवस्थापन सम्हालेर बसेका शाहले भने ‘अहिले विदेशी पर्यटक आउने अवस्था रहेन, त्यहि भएर हामीले केबलकारदेखि रिसोर्टको बसाइँ र बिहानको ब्रेकफाष्टमा ५० प्रतिशत डिस्काउन्ट दिएका हौं । ‘हाम्रो उद्देश्य भनेको स्वदेशीले पनि रिसोर्ट आएर रमाउन सकुन् भन्ने हो ।’ यो प्याकेज विशेष गरी नेपालीलाई लक्ष्य गरेर ल्याइएको हो । 

‘डोमेस्टिक मार्केटलाई मध्यनजर गरेर विभिन्न प्याकेजहरु पनि ल्याएका हौँ,’ उनले थपे ‘अहिले केबुलकारमा पनि ५० प्रतिशत छुट दिएका छौँ । हामीले स्वास्थ्य मापदण्ड पनि पूर्ण रुपमा पालना गरेका छौँ । कोरोनासँग नडराई ढुक्कले घुम्न आउँदा हुने स्थान हो चन्द्रागिरी रिसोर्ट ।’ आन्तरिक र वाह्य पर्यटकको चार्ज फरक फरक छ ।

चन्द्रागिरी रिसोर्टले कपलको लागि ६५ सयमा प्याकेज ल्याएको छ । एक दिनको लागि हामीले केबुलकार फ्रि, स्वीमिङ र ब्रेकफाष्ट सहितको प्याकेज ल्याएको हो ।   केबुलकारबाट झरेपछि रिसोर्टसम्म हामीले नै गाडीमा ल्याउँछौँ,’ शाहले भने ।

रिसार्टको मूल गेटबाट पस्ने बित्तिकै सुरक्षा गार्डको आतिथ्यता । लबीमा बसेका कर्मचारीको मन्द मुस्कान अनि मिठो आवाज, सजाएर राखिएका शोफा । नेपालको मौलिकता झल्कने विभिन्न जात्रा तथा प्रकृतीका ठूला फोटो तथा आर्टका फ्रेम । लवीमै बसेर देख्न सकिने स्वीमिङ पुल । स्वीमिङसहित आउटडोर हटटप । जहाँ स्वीमिङ गरेर रिल्याक्स गर्न सकिन्छ । रिसोर्टको मुख्य ब्लकमा रहेको रेष्टुराँ, डायनिङ हल तथा बार । साना सभा सेमिनार सहजै गर्न सकिने फूलचोकी र शिवपुरी हल ।

 

रिसोर्टमा पहुनाहरूको आतिथ्यको लागि तीन प्रकारले रुमहरू सजाइएका एक सय रुम छन् । एजुकेटिभ, डिलक्स र स्वीट । ‘त्यहि अनुसारको विशेषता र सुविधा पनि,’ रुम डिभिजन म्यानेजर श्याम तण्डुकारले भने ‘गौरीशंकर स्वीट रुम (३२ वटा) को बेडबाटै गौरी शंकर हिमाल देख्न सकिन्छ भने सगरमाथा रुम (२० वटा) बाट विश्व कै सर्वोच्च शिखर सगरमाथा देख्न सकिन्छ । त्यहि अनुसार हामीले रुम बनाएका हौं ।’

यी रुमहरूमध्ये ८ वटा लक्जरी स्वीट रुम छन् । यी रुमहरू हाई क्लाइन्ट र भिआईपीहरूको लागि हो । रिसोर्टमा रहेको एजुकेटिभ रुममा फाइभ स्टारको सुविधा र सर्भिस उपलब्ध छ । डिलक्स, स्वीट गरी ३ प्रकारका रुम छन् । स्वदेशी र विदेशी पाहुनाका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । रुपमा चिया तथा कफि बनाएर खाने सुविधा छ । नुहाउनका लागि तातो र चिसो दुबै पानीको व्यवस्था छ । 

रुममामात्र होइन खानामा पनि नेपालीपन पाइन्छ यहाँ । होटलको किचेनमा कन्टामेशन नहुने सामान प्रयोग गरिएको छ । होटलमा नेपाली खानाका विभिन्न परिकारदेखि विश्वबजारमा चलेका सबै प्रकारका खानाको सुविधा उपलब्ध रहेको सेफ हवन लामाले बताए । । होटलमा रहेको टिभि स्क्रीनबाट खानाका मेनु देख्न पाइन्छ । रुममा राखिएको टिभीबाट मेनु छनोट गरेर अडर गर्न सकिन्छ भने आफै मेनु हेरेर पनि खानाको अडर गर्न सकिन्छ । 

नेपाल भिजिटमा आएका जुनैपनि पर्यटकको पहिलो गन्तव्य भनेको काठमाडौं नै हो । यसका साथै रिसार्टमा जिम, एरोबिक रुम, स्वीमिङ पुल, स्पाको सुविधा छ । 

चन्दागिरी हिल्स रिसोर्टले ३८ वटा गोन्डालो सञ्चालनमा ल्याएको छ । २०७३ साउनअन्तिम साता सञ्चालमा आएको चन्द्रागिरीमा कोभिड अगाडि विदाको दिन ४ हजारको रेसियोमा गेष्ट आउने गरेका थिए भने अरु दिन २ हजारको रेसियोमा आउने गरेका थिए । अहिले कोरोना महामारीका कारण दैनिक ४/५ सयको हाराहारीमा गेष्टहरू चन्द्रागिरी पुग्ने गरेका छन् । यो संख्या विस्तारै बढ्छ भन्ने आशा गरेका छौँ,’ जनरल म्यानेजर शाहले भने । 

चन्द्रागिरी हिल्स रिसोर्टले कोभिडबाट आफ्ना कर्मचारीलाई सुरक्षित राख्न रोटेशन मिलाएको छ । दुई सयभन्दा बढी कर्मचारी कार्यरत भएपनि पहुनाको ‘फ्लो’ हेरेर व्यवस्थापन मिलाउने गरेको हिल्सका एचआर म्यानेजर एमएन शर्मा । ‘हामीले विश्व स्वास्थ्य संगठनले गरेको स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरेर कर्मचारीलाई सुरक्षित तवरबाट काम लगाएका छौं,’ उनले भने । 

रिसोर्टमा हेलिप्याड र ४ सयजना क्षमताको सभा सम्मेलन गर्ने हल अन्डर कन्ष्टक्सनमा छ । कोभिड नआएको भए यी दुबैको निर्माण सम्पन्न भइसक्थ्यो । कोभिडका कारण केही ढिला गरिएको हो । गत मार्चदेखि समय नयाँ गन्तव्यको रुपमा चन्द्रागिरी हिल्स रिसोर्ट सञ्चालनमा आएको हो । चन्द्रागिरी हिल्स अन्तर्गतको रिसोर्टलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहितको पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुसार थप काम भइरहेको शाहले बताए ।

ढकाल अध्यक्ष रहेको कम्पनीले सरकारबाट ४० वर्षका लागि चन्द्रागिरी डाँडोको ७२० रोपनी जमीन भाडामा लिएर केबलकार सञ्चालनमा ल्याएको हो । सो वापत कम्पनीले सरकारलाई वार्षिक १ लाख ८० हजार भाडा तिर्नुपर्छ । काठमाडौंकै सबैभन्दा अग्लो डाँडो चन्द्रगिरी २५५१ मिटरको उचाइमा छ ।

प्रतिक्रिया दिनुहोस