
काठमाडौं । कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुष, मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय संक्रमित पुरुष रहेका छन् ।
धरानका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा आज विहान ४ बजे मृत्यु भएको हो । ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । मृतक डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेका थिए ।
त्यस्तै, मोरङका पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजेतिर मृत्यु भएको हो । ज्वरो आएको भन्दै ती पुरुषलाई उपचारका लागि चिन्ताजनक अवस्थामा सोमबार दिउँसो अस्पताल ल्याइएको थियो। स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजीटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । ती पुरुषमा पाँच वर्षदेखि ब्लड क्यान्सरको पुरानो समस्या थियो।
त्यसैगरि, रतुवामाईका संक्रमित पुरुषको पनि मंगलबार बिहान साढे २ बजेतिर मृत्यु भएको हो । उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो। स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको थियो ।
प्रतिक्रिया दिनुहोस