aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त, केही वडाध्यक्ष सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त, केही वडाध्यक्ष सङ्क्रमित

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन ।  यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए । उनले भने, “ आज दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो । अब उनी छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनेछन ।” मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका हुन । 

केही वडाध्यक्ष सङ्क्रमित
महानगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र नं १९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना सङ्क्रमण पुष्टि  भएको छ । 

ज्वरो आउने र थकाइ लाग्ने भएपछि १८ गते स्वाब परीक्षण गराउँदा आज कोरोना पोजेटिभको नतिजा आएको  ८ नं का वडाध्यक्षले बताउनुभयो । उनले भने, “ मेरी पत्नी ज्ञानमाया महर्जनमा पनि कोरोना पोजेटिभ देखिएर  हामी दुवै होम आइसोलेशनमा बसेका छौं ।”

रुघाखोकी लागेर असोज १३ गते स्वाब परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको १२ का वडाध्यक्षले बताए । उनले भने, “मेयर सापलाई कोरोना देखिनु केही दिनअघि हामी उनसँगै एक बैठक बसेका थियौँ । उनमा कोरोना पोजेटिभ देखियो भनेर आफ्नो पनि परीक्षण गराउँदा नतिजा पोजेटिभ नै आयो ।” ज्वरो आउने र खानाको स्वाद थाहा नपाउने भएपछि १६ गते स्वाब परीक्षण गराउँदा १८ गते कोरोना पुष्टि भएको नं १९ का वडाध्यक्षको भनाइ छ । 

महानगरपालिकाका केही कार्यालय बन्द
असोज २० देखि २७ गतेसम्मका लागि  ८ नं वडा कार्यालय  र १९ गतेदेखि एक हप्ताका लागि  १९ नं वडाकार्यालय पूर्ण रुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी गराएका थिए  ।
 
वडामा कोभिड सङ्क्रमित बढेसँँगै बिहीबारदेखि  २५ गतेसम्मलाई वडाका सम्पूर्ण सेवा बन्द गरिने भएको  २० नंका वडाध्यक्ष चन्द्रलाल महर्जनले बताए । उनेले भने, “आउँदो आइतबारसम्म सङ्क्रमितको सङ्ख्या नियाल्छौं र त्यसपछि पनि थप बढेको बढै गरेमा स्वास्थ्य सावधानी अपनाएर वडामा पुनः सेवा दिन थाल्नेछौं।” अन्य केही वडाध्यक्ष पनि कोरोनाको शिकार भएका कारण आफूलगायत कर्मचारी यसबाट मुक्त रहन सकून् भनेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि वडा बन्द गरिएको महर्जनको भनाइ छ । रासस
 

प्रतिक्रिया दिनुहोस