aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–३ स्थित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता सम्पन्न भएको छ । झाँक्रीपानीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी पिस सिटिले शनिबार जिल्लाका मिडियाकर्मीबीच फोटो खिच्ने प्रतियोगिताको आयोजना गरेको हो । 

प्रतियोगितामा स्वतन्त्र फोटोग्राफर अनुप बानिया प्रथम र राससका म्याग्दी समाचारदाता सन्तोष गौतम द्धितीय भएका थिए । प्रथम र द्धितीयलाई प्रमाणपत्रसहित नगद रु दश हजार र रु छ हजार ५०० प्रदान गरिएको थियो । झाँक्रीपानीको प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र जनजीवनमा आधारित फोटो खिच्ने प्रतियोगितामा छ जनाले सहभागिता जनाएका क्लबका अध्यक्ष खम थापाले बताए । 

बिजेता र सहभागीलाई मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, लायन्स क्लब अफ बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्य, जोन चियर पर्सन हिरा शर्मा लगायतले पुरस्कार बितरण गरेका थिए । समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको झाँक्रीपानीको पर्यटन विकास र प्रचारप्रसारका लागि क्लबले प्रर्वद्धनात्मक गतिविधि गर्दै आएको सचिव सन्दीप खत्रीले बताए । 

धौलागिरी, गुर्जा, पुथा, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह शिखर र माछापुच्छ्रे,  हिमाल, सूर्योदय, सूर्यास्त, पश्चिम म्याग्दीका अधिकांश बस्ती र भूगोलको झाँक्रीपानीबाट दृष्य अवलोकन गर्न सकिन्छ । झाँक्रीपानीमा भ्यू टावर, पदमार्ग, सामुदायिक भवन निर्माण र घरबास सञ्चालन गरिएको मङ्गला गाउँपालिकाका उपाध्यक्ष केसीले बताए । उनका अनुसार गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पोकदेखि नेटासम्म पदमार्ग निर्माण भैसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस