
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९एन्टिजेन टेष्टको अधिकतम शुल्क तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ एन्टिजेन टेष्टको अधिकतम शुल्क एक हजार तोकेको जानकारी दिएका हुन् ।
राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुले मात्र यो टेष्ट गर्न पाउनेछन् र एफडीए र ईयूए मान्यता प्राप्त तथा स्वास्थ्य सेवा विभागले स्वीकृत गरेका किटहरु मात्र प्रयोग गर्नुपर्नेछ ।
मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र पठाई एफडिए, इयुएबाट मान्यताप्राप्त र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त किटहरु मात्र सूचीकृत गर्न समेत निर्देशन दिएको छ।
बायोसेफ्टी प्रोटोकल नमुना संकलन विधि तोकेबमोजिम हुने र नमुना संकलन विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिम हुने मन्त्रालयले जनाएको छ।
परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस