aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

​रेम्डेसिभिर औषधि कोरोना बिरामीको स्वास्थ्यमा सुधार ल्याउन सकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ कार्तिक २०७७
​रेम्डेसिभिर औषधि कोरोना बिरामीको स्वास्थ्यमा सुधार ल्याउन सकेन

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार रेम्डेसिभिर नामक औषधिको कोभिड–१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ । 

फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको बताएको छ । उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो ।

ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको देखिएन । तर रेम्डेसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले प्रतिक्रिया दिँदै उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ । सो अध्ययनबाट कुनै निष्कर्ष निकाल्न सकिनेमा पनि उसले संशय व्यक्त गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो । गत एप्रिलमा अमेरिकामा गरिएका परीक्षणमा रेम्डेसिभिरमा कोरोनाभाइरस संक्रममणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका थिए । 

विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो ।  रेम्डेसिभिरको विकास इबोलाको उपचारको लागि गरिएको हो।

यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ ।  एप्रिलको अनुसन्धान नतिजापश्चात् विश्वभरि नै अस्पतालहरूले कोभिडको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्दै आएका थिए ।

कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएपछि यसविरुद्ध प्रयोग गर्न सकिने पहिलोमध्येको औषधिको रूपमा रेम्डेसिभिरको उपयोगिता पत्ता लागेको थियो । पछि जुन महिनामा ब्रिटेनमा गरिएको अनुसन्धानमा सस्तो र सुलभ रूपमा पाइने डेक्सामेथासन नामक स्टेरोइड औषधिले कोभिडबाट ज्यान जोगाउन सक्ने पाइएको थियो । कोभिडका कारण गम्भीर अवस्थामा पुगेका बिरामीमा अहिले डेक्सामेथासनको धेरै प्रयोग हुने गरेको र यसले धेरैको ज्यान जोगाइरहेको बताइन्छ । बीबीसीबाट 
 

प्रतिक्रिया दिनुहोस