aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोनाबाट मृत्यु भएकाको सरकारले दाहसंस्कार गर्दैन भन्ने भ्रममा नपर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
कोरोनाबाट मृत्यु भएकाको सरकारले दाहसंस्कार गर्दैन भन्ने भ्रममा नपर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कार सरकारले गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कार सरकारले गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् । 

गौतमले होम आइसोलेसनमा बसेका संक्रमितको निधन भएको खण्डमा आफन्तले परम्परा र संस्कृती अनुसार दाहसंंस्कार गर्न चाहेमा पाउने व्यवस्थामात्र गरिएको बताए ।

‘नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनको कार्य निरन्तर रहिरहन्छ,’ उनले भने, ‘नेपाली सेना पुग्न नसकेको अवस्थामा वा परिवारले आफन्तको दाहसंस्कार आफैँ गर्छु भनेमा त्याे भावनाको सम्मान गर्दै यस्तो व्यवस्था गरिएको हो ।’

उनले कोरोना भाइरस थुकको छिटाबाट सर्ने र मृत शरिरबाट थुकको छिटा नआउने भएकाले रोग सर्ने संभावना न्युन हुने बताए ।

धेरै समुदाय र संघसस्थाबाट आफ्नो धर्म संस्कृती र परम्पराबाट गर्न पाउनु पर्ने माग भएको उनले जानकारी दिए । त्यसरी दाहसंस्कार गर्दा पनि सुरक्षाका सबै उपाय अपनाएर मात्र गर्न भनिएको उनले स्पष्ट पारे ।

'सरकारले शव व्यवस्थापन गर्दैन भन्ने हल्लामात्र हाे, भ्रममा नपर्न आग्रह गर्दछु,' गाैतमले भने । कोरोना संक्रमितको शव सरकारले व्यवस्थापन गर्दैन भन्ने कुरा निराधार हल्ला भएको गौतमले बताए।

प्रतिक्रिया दिनुहोस